चिनियाँ सेनासँगको झडपमा परेर भारतीय उच्च अधिकारी सहित २० जना सेनाको मृत्यु

चिनियाँ सेनासँगको झडपमा परेर भारतीय उच्च अधिकारी सहित २० जना सेनाको मृत्यु

नयाँदिल्ली ३ असार । भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक ।

सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जानकारी दिएको हो । चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ ।

चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिंसात्मक झडप भएको भारतले जनाएको छ । झडपमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृत्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृत्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको दाबी गरेको छ । चिनियाँ सेना पीएलएका पश्चिम क्षेत्र कमान्डका प्रवक्ता झाङ सुइलीले भारतीय सेना गलवन उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल(एलएसीैं) नाघेर सुनियोजित रूपमा उत्तेजक आक्रमणमा ओर्लेकाले भीषण झडप भएको जनाएका छन् । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।



ट्रेन्डिङ