चिनसगँको झडपमा २० भारतीय सैनिकको मृत्यु

चितवन ३ असार। पछिल्लो केहि समयदेखि भारत र चिन बिच लद्दाखमा तनाव बढ्दै गइरहेको छ।यसै बिच विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भएको मुठभेडमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।
भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो ।यसअघि भारतीय सेनाले एक अधिकृतसहित तीन जना सैनिकको मृत्यु भएको जानकारी दिएको थियो। त्यसबाहेक गम्भीर रूपले घाइते १७ जना सैनिकको पनि मृत्यु भएको सेनाले जनाएको हो।
भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच झडप भएको थियो । झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’ भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी ९पीएलए०को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।
चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ । जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ । जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो । म माग गर्दछु भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस् ।’
गल्वानमा पछिल्लो समय देखिएको तनाव मत्थर पार्न दुई देशबीच वार्ता चलिरहेका बेला सोमबार राति उक्त झडप भएको थियो। पछिल्लो समय गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरेर गस्ती गरिरहेको भारतको दाबी छ।
दुबै देशका अधिकारीहरूले परिस्थितिलाई थप बिग्रन नदिन वार्ता भइरहेको जनाएका छन्। तर यो घटना यत्तिकै मत्थर हुने सम्भावना भने झिनो छ किनकी ४५ वर्षपछि भारत -चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृत्यु भएको हो।