हेटौँडामा बन्द कोठाभित्र युवती मृत फेला

हेटौँडामा बन्द कोठाभित्र युवती मृत फेला

हेटौंडा २ असार । हेटौँडाकी एक विवाहित महिला घरको बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा–४, कर्रास्थित आफ्नै घरमा अन्दाजी २३ वर्षीया सुस्मिता थापा मंगलबार बिहान मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले बताएको छ । घटनास्थलमा रगत पनि देखिएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।

मृतक थापाकी श्रीमानको पनि करिब ६ महिनाअघि सवारी दुर्घटनामा परेर ज्यान गएको थियो । ‘कपिलवस्तु माइती रहेकी थापाको आत्महत्या वा हत्या हो भन्न सकिने अवस्था छैन । हामीले अनुसन्धान गरिरहेका छौँ,’ रानाले भने ।प्रहरीले थापाको माइती पक्षलाई पनि हेटौँडा बोलाएको छ । शवको पोष्टमार्टन भइनसकेको प्रहरी नायव उपरीक्षक रानाले बताए । ‘शवको पोष्टमार्टमपछि आत्महत्या वा हत्या हो पत्ता लाग्नेछ । पोष्टमार्टम गर्ने तयारी भइरहेको छ,’ रानाले भने ।

घरमा सुसुरा, सासू, एक नन्दसँगै मृतक थापा घरमा बस्दै आएको रानाले जानकारी दिए । मृतक थापाको माइती पक्षले घटनाको विषयमा गहन रूपले अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको स्थानीयले बताए ।



ट्रेन्डिङ