सिकाइसम्बन्धी अभियानमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह

सिकाइसम्बन्धी अभियानमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाणैं १ असार । जारी लक डाउनले स्कुले बालबालिकाको भविष्य अन्यौलमा पर्न थालेपछि प्रधामन्त्री केपी शर्मा ओलीले सिकाइसम्बन्धी अभियानमा सहभागी हुन आग्रह गरेका छन् । देशबासीको नाममा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन सकिने उनले जनाए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबारदेखि रेडियो र टेलिभिजनबाट वैकल्पिक कक्षा सञ्चालन थालेको छ । प्रधानमन्त्रीले ती कक्षामा सहभागी हुन आग्रह गरेका हुन् । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ उनले भने ।

सरकारले कोरोना भाइरसको जोखिम आकलन गरी यथासम्वभ छिटो विद्यालयहरु पुनस् सञ्चालन गर्ने समेत उनले बताए । वैकल्पिक कक्षाले विद्यार्थीको ज्ञानमा महत्वपूर्ण योगदान गर्ने प्रधानमन्त्रीले बताए । वैकल्पिक कक्षाका लागि आवश्यक सामग्री शिक्षा मन्त्रालयले व्यवस्थापन गर्ने प्रधानमन्त्री ओलीले जनाए ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गरे । ‘वैकल्पिक शिक्षामा जोडिएका बालबालिका भोलिका कर्णाधार हुन्,’ विद्यार्थी, अभिभावकलाई निराश नहुन आग्रह गर्दै उनले भनेका छन्, ‘शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आएको छ ।, यो प्रविधिलाई घरघरमा पुर्‍याउने अवसर पनि हो ।’ प्रधानमन्त्रीले वैकल्पिक कक्षामा सहभागी देशभरका ६० लाख विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे ।



ट्रेन्डिङ