कालिका नगरपालिकाले प्रत्येक वडामा आधारभूत तहको स्वास्थ्य चौकी बनाउँदै

कालिका नगरपालिकाले प्रत्येक वडामा आधारभूत तहको स्वास्थ्य चौकी बनाउँदै

पिविएम न्यूज
कालिका १ असार । पूर्वी चितवनको कालिका नगरपालिकाका स्थानीयले अब प्रत्येक वडाबाटै आधारभूत तहका स्वास्थ्य सेवा पाउने भएका छन् । प्रत्येक वडामा आधारभूत तहको स्वास्थ्य चौकी निर्माण गर्ने नगरपालिकाले तयारी गरेपछि वडाबाटै स्थानीयले आधारभूत तहको स्वास्थ्य सेवा पाउने भएका हुन ।

नगरपालिकाले केन्द्रीय सरकारवाट प्राप्त आर्थिक सहयोगवाट प्रत्येक वडामा आधारभूत तहको स्वास्थ्य चौकी बनाउने कामलाई तीब्रता दिएको छ । कालिका नगरपालिको वडा नं. १ ले आज ( सोमवार ) मात्रै स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरेको छ । वडा कार्यालसँगै निर्माण गर्न लागिएको स्वास्थ्य चौकीको आजै शिलन्यास गरिएको वडा अध्यक्ष लिला वहादुर गुरुङले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि नगरपालिकाले ३८ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्षको असार मसान्त भित्र ३५ प्रतिशत काम सक्नुपर्ने योजना छ । तर जारी लक डाउनका कारण निर्धारित समयभित्र काम सुरु गर्न सकेनन् ।

अहिले कालिका नगरपालिकामा जुटपानी अस्पताल सँगै ३ वटा स्वास्थ्य चौकी संचालनमा छन् । अब ८ वटा वडामा आधारभूत तहको स्वास्थ्य चौकी निर्माण हुँदैछ । प्रत्येक वडाका नागरिकको पहुँच आधारभूत तहको स्वास्थ्य क्षेत्र सम्म पुर्याउन यो योजना ल्याइएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण ( गोपी ) श्रेष्ठले बताए । वर्गीकरणको आधारमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । जनसंख्याको आधारमा ‘क’ र ‘ख’ गरी दुई तहको भवन निर्माण हुनेछ । धेरै जनसंख्या भएको वडामा ‘क’ वर्गको भवन निर्माण हुँदैछ । कालिकामा वडा नं. ८ लाई ‘क’ वर्गमा राखिएको छ भने अन्य वडालाई ‘ख’ वर्गमा वर्गीकरण गरिएको छ ।

केन्द्र सरकारले नै गरेको सर्वेको आधारमा वर्गीकरण गरिएको कालिका नगरपालिकाका प्रमुख श्रेष्ठका स्वकीय सचिव दीपक लामिछानेले जानकारी दिए । उनका अनुसार वर्गीकरणकै आधारमा बजेट समेत विनियोजन गरिएको छ । वडा नं. ८ लाई भवन निर्माणका लागि ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने अन्य वडालाई ३८ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको छ । आधारभूत तहको स्वास्थ्य चौकीमा अहेब, स्टाफनर्स, अनमीको व्यवस्थापन हुने छ । नगरपालिकाले प्रत्येक वडामा दुई दुईजना कर्मचारी व्यवस्थापन गर्नेगरी तयारी गरिरहेको छ । कालिका नगरपालिकामा हाल ११ वटा वडाहरु छन् ।

   



ट्रेन्डिङ