रत्ननगरको बजेट प्रति नेकपाको चासो,कृषि र पशुपालनमा प्रविधि र प्राविधिकमा जोड दिन सुझाव

रत्ननगरको बजेट प्रति नेकपाको चासो,कृषि र पशुपालनमा प्रविधि र प्राविधिकमा जोड दिन सुझाव

चितवन ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरले शनिवार नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागि विनियोजन गर्ने बजेटको विषयमा अन्तक्रिया कार्यक्रम गरेको छ । आगामी बर्षको बजेटलाई जनमुखी बनाउन पार्टीले विज्ञ सहित जनप्रतिनिधि र पार्टीका नेताहरु बीचमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको पार्टीका नगर अध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए ।

कार्यक्रममा विज्ञहरुले कृषि र पशुपालनलाई व्यवसायिक बनाउन प्रविधिको प्रयोग र प्राविधिकको निशुल्क व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेका छन । कोरोना भाइसरबाट नगरबासीलाई जोगाउन अस्पतालमा पिसीआर प्रयोगशाला तत्काल स्थापना गर्न सुझाब दिइएको छ । विज्ञहरुले कोरोना भाइरसका कारण विदेशबाट आउने युवाहरुलाई रोजगारी संगै आयआर्जनको बातावरण बनाउन कृषि र पशुपालनमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।

शहीद स्मृति बहुमुखी क्याक्पसका क्याम्पस प्रमुख धर्मदत्त तिवारीले शिक्षा सम्बन्धी, विज्ञ समुहका सदस्य गोपी नेपालले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहले गरेका काम, विज्ञ समुहका अर्का सदस्य कपिलदेब सुवेदीले कर संकलन र परिचालन,डा.शिव रिजालले कृषि उत्पादन र बजारिकरणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विज्ञहरुबाट आएका सुझाबलाई आत्मसाथ गरी आगामी बर्षको नीति,बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए ।

कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,पर्यटन र शिक्षामा नगरबासीको अपेक्षा अनुसार नै काम भइरहेको भन्दै उनले अबको दुई बर्षमा नगरबासीको अनुहारमा मुस्कान ल्याउने गरी काम गर्ने बताए । मेयर वनले कोरोना भाइसरबाट नगरबासीलाई जोगाउन अस्पतालमा आइसोलेसन वार्ड,आकस्मिक कक्ष,डाक्टरको संख्या बृद्धि,आइसियू कक्षा निर्माणमा ध्यान दिएको बताए ।

कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल,उपमेयर विमला दुवाडी,पार्टीकी जिल्ला कमिटी सदस्य पार्वती न्यौपाने,वडा स्तरका नेताहरु एञ्जीला कुँवर,कमलबहादुर घिमिरे,भीम बहादुर थापा,ऋषबदेब थपलिया,कृष्ण कँडेल,कृष्ण खनाल,गोकर्ण कुमारी महतो,मेघनाथ पौडेल,भीष्मराज पौडेल,रामहरि अधिकारी,बासु लामिछाने,दीलबहादुर बुढाथोकी,बाबुराम श्रेष्ठ,गणेश पौडेल,सागर मिश्र लगायतले मन्तव्य राखेका थिए । नेकपाका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमम नगर अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रम नगर सचिव ओम लामिछानेले सञ्चालन गरेका थिए ।



ट्रेन्डिङ