मिचिएको भूभाग समेटिएको नक्सा सहित संशोधन विधेय पारित भएको खुशीयालीमा दीपप्रज्वलन

मिचिएको भूभाग समेटिएको नक्सा सहित संशोधन विधेय पारित भएको खुशीयालीमा दीपप्रज्वलन

चितवन ३१ जेठ । प्रतिनिधि सभाको बैठकले नेपालको मिचिएको भूभाग समेटिएको नक्सा सम्बन्धि नेपालको संविधान दोश्रो संशोधन विधेय पारित गरेको ऐतिहासिक दिनको अवसरमा चितवनका विभिन्न ठाउँमा दीपावली मनाएका छन् । भरतपुरको चौविसकोठीमा मदन भण्डारी फाउण्डेशनले दीप प्रज्जवलन कार्यक्रम गरेको छ ।

कार्यक्रममा बागमती प्रदेश सांसद विजय सुवेदी लगायत जिल्लाका नेता कार्यकर्ता देखि, यूवा, विद्यार्थी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, हाम्रो हो’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा प्रदेश सांसद सुवेदीले भारतले अतिक्रमण गरेको भूभाग सहितको नक्सा संविधानमै समेट्नु ठूलो उपल्बिध भएको बताए । अब भारतसँग मैत्रीपूर्ण वातावरण बनाई वार्तामार्फत गुमेको भूमी ल्याउनुपर्नेमा जोड दिए ।

फाण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा फाउडेशनका उपाध्यक्ष सम्भु सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम फाउण्डेशनका सचिव श्यामकुमार विष्ठले संचालन गरेका थिए । फाउण्डेशनले सबैलाई घरघरमै दीपावली गर्न समेत आग्रह गरेकोछ । कोरोनाको महामारीका कारण धेरै मानिस जम्मा भएर भिडभाड गर्ने उपयुक्त समय नभएकाले घरघरमै दीपावली गर्न आग्रह गरेको हो ।

यसैबीच भरतपुर र नारायणगढ क्षेत्रका विभिन्न टोलटोलमा पनि दीपावली मनाइएको छ । नेपाली झण्डा सहित युवाहरु दीप प्रज्ज्वलन गरेका छन् ।  नेपाली राष्ट्रिय गीत बनाउँदै दीप प्रज्ज्वलन गरेका हुन । कतिपय ठाउँमा भारतविरुद्ध नाराबाजी समेत भएका छन् ।



ट्रेन्डिङ