सीमा क्षेत्रको विवादलाई समेटेको ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक ( भिडियो सहित )

सीमा क्षेत्रको विवादलाई समेटेको ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक ( भिडियो सहित )

चितवन ३० जेठ । देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बेला देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक भएको छ ।पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको सन्देश दिने गरी शुक्रवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

अतिक्रमित भूमि फर्काउन सरकारले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । नेपालको भूमिका रक्षाका लागि सिङ्गो देश एकजुट भइरहेका बेला उत्तम केसीद्वारा लिखित गीत बजारमा आएको छ । गायक विजय अधिकारी र मनिष राईको स्वर रहेको गीतमा संगीत विजय अधिकारीको रहेको छ ।

गीतमा नेपाल कलाकर्मी संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी,आशा भुषाल लगायत कलाकार संघका कलाकर्मीको अभिनय रहेको छ । राष्ट्रिय गीतको निर्देशन निर्देशक जीवन शाहीले गरेका छन् भने निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् । राष्ट्रियताको विषयमा कोही पक्ष, विपक्ष, प्रतिपक्ष नहुने सन्देश दिन गीत निर्माण गरिएको निर्माता शम्सेर श्रेष्ठले बताए ।

गीतका लेखक उत्तम केसी भन्छन्, ‘देशमा उठिरहेको विषय भूमि जोगाउन हामी आई लाग्नेमाथि जाई लाग्ने तर कहिले पनि पछि पर्ने छैनौं र भारतको थिचोमिचो सहने छैनौं भन्ने मूल सन्देश दिन गीत लेखेको हुँ ।’



ट्रेन्डिङ