संक्रमित राखिएको आइसोलेसन कक्षमा ‘न झूल छ, न पङ्खा’

संक्रमित राखिएको आइसोलेसन कक्षमा ‘न झूल छ, न पङ्खा’

दिपेन्द्र अधिकारी-

भररतपुर ३० जेठ । कोरोना संक्रमित पोजेटिभ भए पनि लक्षण नदेखिएकाहरुलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । तिनै उपचाररत संक्रमितमध्येका एक हुन्, धादिङका २० वर्षीय युवा । जेठ २८ गते संक्रमण भएको पत्ता लागेपछि उनलाई रेडक्रसग्राममा बसिरहेको क्वारेन्टाइनबाट उठाएर कोरोना आइसोलेसनमा ल्याइयो ।

आफूमा संक्रमण भएको थाहा भएपछि थप उपचार र हेरचाहका लागि उनी कोरोना अस्पताल ल्याइएका थिए । तर, अस्पतालको व्यवस्थापन देखेर उनी तीनछक खाए १ चढ्दो गर्मीमा ठूलो भवनभित्र पङ्खाको सहाराबिना बस्नुपर्दाको पीडाले उनलाई थप चिन्तित बनायो । रोगको भन्दा अरु सुविधा अभावले तनाव दिएको उनको भनाइ छ । कोरोना विशेष अस्पतालमा पङ्खा र झूलजस्ता सामान्य वस्तुहरुको पनि अभाव देखेर उनी थप पीडित बने । उनले तत्कालै कालिका नगरपालिका–६ का वडा अध्यक्ष विनोद रेग्मीलाई फोन गरी गुनासो राखे ।

‘क्वारेन्टाइनजत्तिको पनि अस्पतालमा सेवासुविधा रहेनछ, म त आत्तिएँ भन्दै फोन आयो’, संक्रमितको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष रेग्मीले भने, ‘सामान्य पूर्वाधार पनि नभएको ठाउँमा केकसरी उपचार होला भनेर म आफैँ चिन्तित बनेँ ।’ संक्रमितको गुनासो आएपछि आफूले सिडियो, सहायक सिडिओ, जिल्ला समन्वय प्रमुखलाई जानकारी गराएको वडा अध्यक्ष रेग्मी बताउँछन् । सामान्य सुविधा पनि नभए आफूले वडाकै क्वारेन्टाइनमा ल्याएर राख्ने चेतावनी दिएको उनले बताए । आइसोलेसन वार्डमा बसेको २४ घन्टापछिमात्रै उनले जेठ २९ गते दिउँसो एउटा पङ्खा र झूल पाए । उनले त वडा अध्यक्षलाई गुनासो गरेपछि पाए, तर छेउमै बस्ने अर्का संक्रमित साथीको हालत फेरि उस्तै । भरतपुर–५ का ती संक्रमितलाई पनि झूल र पङ्खा छैन ।

‘गर्मी भएर पसिना बढी आउन थालेपछि शीतलता खोज्दै म भएको ठाउँमा उनी आउँछन्’, ती संक्रमित युवाले भने । स्वास्थ्यकर्मीहरुले बिहान–बेलुका दुईपटक ज्वरोको नाप लिने गरेको उनले बताए । – चितवन पोष्टमा खबर छ ।



ट्रेन्डिङ