भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेपछि सर्लाही सीमामा तनाव,एक जनाको मृत्यु

भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेपछि सर्लाही सीमामा तनाव,एक जनाको मृत्यु

वीरगञ्ज ३० जेठ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’ प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए ।

प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट ९बीओपी० मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको अनलाइनखबरलाई बताए । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।



ट्रेन्डिङ