एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा

काठमाण्डौं २८ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।  मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । मन्त्री पुनले एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए । अवेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।



ट्रेन्डिङ