भरतपुर महानगरलाई चीनले दियो स्वास्थ्य सामग्री सहयोग

भरतपुर महानगरलाई चीनले दियो स्वास्थ्य सामग्री सहयोग

भरतपुर २८ जेठ । भरतपुर महानगरपालिकालाई चीनको गुर्मु सिटीले कोरोना भाइरस ( कोभिड–१९) संक्रमण विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुर्मु सिटीका प्रतिनिधी चाङ्ग जिउ लिई लिले सो सामग्री महानगरलाई हस्तान्तरण गरेको हो । प्राप्त सो सामग्री मेयर रेनु दाहालले आजै जिन्सी शाखालाई हस्तान्तरण गर्दै प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिएकी छिन् ।

भरतपुर महानगरपालिका र चीनको गुर्मु सिटी बीच भगीनी सम्बन्ध रहेको छ । यी दुई नगरबिच विभिन्न समयमा दुई पक्षीय सहयोग आदान प्रदान भैरहेको छ । सोही अनुरुप गुर्मु सिटीले विपदको ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान गरेकोमा मेयर दाहालले गुर्मु सिटीलाई धन्यवाद ज्ञापन गरिन् । उनले भनिन्–‘यो हाम्रो लागि निकै ठूलो सहयोग हो, आगामि दिनमा यस्तै रहनेमा हामी आशावादी छु ।’

उनले थपिन्–‘विपदको समयमा प्राप्त स्वास्थ्य सामग्रीले दुई नगरकाबिच भएको भगीनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको छ ।’ महानगर प्रमुख दाहालले आफ्नै पहलमा गुर्मु सिटीसंग भगीनी सम्बन्ध स्थापित गरेकी हुन् ।

मेयर दाहालले प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिने जानकारी दिइन् । गुर्मु सिटीले ११ लाख रुपैयाँ बराबरको उक्त सामग्री सहयोग गरेको हो । जसमा १० हजार थान सर्जिकल मास्क, ९६० थान एन९५ मास्क, १२० थान पीपीई, १२० थान थर्मल गन रहेका छन् ।



ट्रेन्डिङ