संविधान संशोधनमा सबै दल एकमत, भूमि फिर्ता ल्याउने तयारी थाल्न सरकारलाई आग्रह

संविधान संशोधनमा सबै दल एकमत, भूमि फिर्ता ल्याउने तयारी थाल्न सरकारलाई आग्रह

काठमाडौँ २७ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा पुगेको नेपालको संविधान संशोधन प्रस्तावमा संघीय संसदमा सबै दलले समर्थन जनाएका छन् । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै सत्तारुढ नेकपाका साथै प्रमुख प्रतिपक्षी कांग्रेसलगायत समाजवादी पार्टी र राजपाले पनि समर्थन जनाएका छन् । त्यस्तै, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संविधान संशोधन विधेयकमा समर्थन जनाएका हुन् ।

सत्तारुढ नेकपाका सांसद कृष्णभक्त पोखरेलले अध्यावधिक नक्साअनुसार संविधान संशोधन ऐतिहासिक निर्णय भएको बताएका थिए । उनले भारतले जारी गरेका नक्साहरूले नै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको भएको प्रष्ट रहेको बताए । भारतले उक्त क्षेत्रमा सेना राखेर नेपालको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको उलंघन गरेको उनले बताए । सीमा रक्षा गर्ने दायित्त्व सरकारको हो त्यो गरिएको छ । राष्ट्रियताको सवालमा सबै एकठाउँमा उभिने छौं, उनले भने ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको तथ्य र प्रमाणहरूले देखाएकाले राष्ट्रियताको सन्दर्भमा प्रतपक्षी दलले समर्थन गरेको बताए । लिम्पियाधुराबाट बग्ने कालापानी पूर्वको भूमि नेपालको हो त्यसैले नक्साका लागि हुने संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसले संस्थागत निर्णय गरेको छ, उनले भने, कांग्रेस सरकारले विगतमा पनि भारतसँग कालापानी क्षेत्र नेपालको भएको र चीन र भारतबीच लिपुलेकबारे बेइजिङमा सम्झौता हुँदा विरोध गरेको थियो । उनले भारतले गत कात्तिकमा नक्सा जारी गरेपछि कांग्रेसले विरोध गरेको पनि स्मरण गराएका थिए ।

समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले विधेयकको समर्थन गर्दै सरकारलाई सबै दलहरूहरूलाई एकत्रित बनाएर आन्तरिक बाह्य राष्ट्रियता बलियो बनाउन सुझाव दिएका थिए । राजपाका नेता लक्ष्मणलाल कर्णले आफूहरूको राष्ट्रियतामाथि प्रश्न नउठाउन अनुरोध गरेका थिए । उनले संविधान संशोधन विधेयकको समर्थन गर्दै भने, हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन । हामी पटक पटक भनिरहेका छौं । तर पनि आज मैले सुन्दा जुन अर्नगल कुरा सरकारपक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ रु त्यस किसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ रु यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ । त्यसकारण यस किसिमका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ ।

सत्तापक्षका केही सांसदहरूले समाजवादीकी सांसद सरिता गिरीलाई लक्षित गरेर आलोचना गरेका थिए । जसको सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक रुलिङ गराएका थिए ।

 



ट्रेन्डिङ