बोक्सीको आरोपमा निर्घात कुटपिट,पञ्चायती गरेर मिल्न दबाब

बोक्सीको आरोपमा निर्घात कुटपिट,पञ्चायती गरेर मिल्न दबाब

सप्तरी २७ जेठ । बोक्सीको आरोपमा एक मुसहर (दलित) समुदायकी महिलामाथि निर्घात कुटपिट भएको छ । सप्तरीको महदेवा गाउँपालिका ४ परसाहीकी ३० वर्षीया मन्जुदेवी सदा बोक्सीको आरोपमा दोस्रोपटक कुटिएकी हुन् ।उनलाई आफ्नै काका ससुराकी बुहारी भुटियादेबी सदा र उनका छोरा सन्दिपले गत आइतबार बोक्सी भन्दै कुटपीट गरेका हुन् । घरेलु हतियारले हान्दा उनको टाउकोमा गहिरो चोट लागेको छ ।

‘आइतबार मेरा श्रीमान् छोरीको घर गएका थिए । त्यसैबेला मेरो नातिनीलाई खाईस भन्दै जेठानी दिदी भुटियादेबी र उनका छोरा सन्दिप आएर मलाई कुट्न थाले,’ पीडित मन्जुदेबीले  भनिन् । लकडाउनका कारण पतिले काम नपाउँदा घरमा भोकै बसेको बेला बोक्सी भन्दै गालीगलौज गर्दै कुटेको उनले बताइन् । भुटियादेवीकी जेठी बुहारीको नवजात शिशुको साताभित्रै मृत्यु भएको थियो । भुटियादेवीले मन्जुले बोक्सी मन्त्र गरेर उनलाई मारेको भन्दै कुटपिट गरेकी हुन् ।

‘मेरी नातिनीलाई खाइस्, गाउँमा अरुलाई पनि बोक्सी मन्त्र लगाइस् एर संकटमा पारिस भन्दै जथाभावी कुटपीट गर्न थाले,’ पीडित मन्जुले भनिन्, ‘हतियारले हान्दा मेरो टाउको फुटेको छ ।’ उनले आफूमाथि खुकुरी, थाली र बासको भाटाले हानिएको बताइन् । बोक्सी आरोपमा कुटिएकी मन्जुका पाँच सन्तान छन् । एक छोरीको बिहे भइसकेको छ भने चार सन्तान नाबालक छन् । उनले बोक्सी आरोप लगाएर आफूलाई २०७० सालमा पनि कुटपिट गरिएको बताइन् । ‘त्यो बेला पनि गाउँका मान्छेले मलाई पिटेका थिए, अहिले आफ्नै जेठानीले टाउको फोडिन,’ उनले भनिन् । उनले आफूलाई झुट्टा आरोप लगाएर कुटपिट गर्नेमाथि कानून कारबाही गर्न पनि माग गरेकी छन् ।

ऐलानी जग्गामा घर बनाएर बस्दै आएका मन्जुदेवीका श्रीमान् ज्यामी काम गर्छन् ।



ट्रेन्डिङ