जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख क्षतिपूर्ति

जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख क्षतिपूर्ति

रत्ननगर २७ जेठ । जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रत्ननगर–७ बोद्रहनीका मानबहादुर तामाङको परिवारलाई मंगलवार क्षतिपूर्ति रकम प्रदान गरिएको छ । रत्ननगर नगरपालिकाका अगुवाइमा गरिएको सामुदायिक बिमा कार्यक्रम अन्तर्गत शिखर इन्स्योरेन्सले १० लाख रुपैया क्षतिपूर्ति रकम प्रदान गरेको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर नारायण वन र वनका अध्यक्ष जितु तामाङले मृतककी श्रीमती आइतीमाया तामाङलाई १० लाख रुपैया बराबरको चेक हस्तान्तरण गरेका थिए ।

मृतक तामाङको निकुञ्ज अन्तर्गत खोरसोर वनमा भैसी चराउन जाँदा गत फागुन २ गते जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । यस अघि तामाङको परिवारलाई बाघमारा वनले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको थियो ।
क्षतिपूर्ति राहत हस्तान्तरण कार्यक्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे, मृगकुञ्जका निर्वतमान अध्यक्ष वासु ढुंगानाले मन्तव्य राखेका थिए । वनका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्ण भट्टले सञ्चालन गरेका थिए ।



ट्रेन्डिङ