सौराहामा निर्माण गरिएको रोटरी घण्टाघर नगरपालिकालाई हस्तान्तरण

सौराहामा निर्माण गरिएको रोटरी घण्टाघर नगरपालिकालाई हस्तान्तरण

दीपेश चौधरी-

सौराहा २६ जेठ । चितवनको सौराहामा निर्माण गरिएको रोटरी घण्टाघर स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको सो घण्टाघर स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरेको हो । चितवनको पर्यटन विकासको लागि रोटरी क्लबले रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारचोकमा ३५ लाख लगानी गरेर घण्टाघर निर्माण गरेको क्लबका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए ।

सिसुवारमा आयोजित औपचारिक कार्यक्रमका बीच रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपीन पोखरेलले रत्ननगरका मेयर नारायण वनलाई रोटरी घण्टाघर हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा मेयर वनले सो वडाका वडाध्यक्ष राजन भट्टलाई स्थानीय व्यवस्थापन गर्ने गरी घण्टाघर हस्तान्तरण गरेका छन् । जिल्ला समन्वय समितिको संयोजनबाट रत्ननगर नगरपालिकाले १० लाख रुपैयाँ घण्टाघर निर्माणका लागि सहयोग गरेको थियो । यस्तै डा. अमर श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, रोटरी क्लब अफ पुण्यवाट ४ वटा घडी प्राप्त भएको थियो । यस्तै रक्की खरेलले २६ हजार रुपैयाँ नगद प्रदान गरेको छ । अन्य रकम भने ५२ जना रोटरीयनबाट संकलन भएको रोटरीयन जनकराज पौडेलले जानकारी दिए ।

घण्टाघर निर्माणका लागि निर्माण व्यवसायी समेत रहेका रोटरीयन केदार अधिकारीले २५ लाख रुपैयाँमा जिम्मा लिएका थिए । उनले घण्टाघरमात्रै निर्माणको जिम्मा लिएका हुन । रोटरीयन घण्टाघर हस्तान्तरण भएपनि पूर्ण रुपमा फिनिसिङ हुन बाँकी छ । समय सहज भएपछि घण्टाघर निर्माणमा संकलन भएको अर्थ र खर्च भएको विवरण सार्वजिक रुपमै देखिने गरी वोर्ड राखिने क्बलले जनाएको छ । घण्टाघरलाई सुन्दर र व्यस्थित बनाउने काम बाँकी छ । यसको वरिपरी हरियाली पार्क निर्माण गरिने क्लबका सचिव सुरेन्द्रनाथ रेग्मीले जानकारी दिए । हस्तान्तरण कार्यक्रमलाई संवोधन गर्दै रत्ननगरका नगर प्रमुख नारायण वनले पर्यटकीय विकासमा यसले ठूलो अर्थ राख्ने बताए । घण्टाघर वरिपरीको गाउँलाई विश्वले थारु रोटरी गाउँको रुपमा चिन्ने बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका वडा अध्यक्ष लालवहादुर भट्टले रोटरी क्लबसँगको सम्बन्धले पर्यटन क्षेत्रमा मात्रै नभई समग्र वडाको विकासमा टेवा पुगेको बताए । २०७३ सालको बाढीले जोडेको सम्बन्ध २०७७/०७८ सम्म यसैगरी जारी रहने बताए । बाढीको बेला चामलको बोरा देखि यहाँका मुसहरहरुको घर बनाउनमा समेत क्लबले सहयोग गरेको भन्दै अध्यक्ष भट्टले वडाको विकासका लागि क्लबले खेलेको भुमिका अत्यन्तै महत्वपूर्ण भएको बताए । अध्यक्ष भट्टले बाल उद्यान सँगै वाटरकिङ डम बनाउन सके ७ नम्बर वडामा ठूलो प्रगती हुने सुनाए ।

यो टावरपनि पर्यटकीय पूर्वाधारको रुपमा लिन सकिने भन्दै उनले सौराहा सभाहलको निर्माण कार्य समेत तीब्र भइरहेको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी, रोटरीयन आइपि ढकाल, रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२५ का डिजि किरणलाल श्रेष्ठ प्रमुख अतिथि थिए । उनले भर्चुअल अनलाईन मार्फत हस्तान्तरण समारोहमा सहभागीता जनाएका थिए । यसैगरी पिडिजी रविन्द्र कुमार पिया, पिडिजी संजय गिरी, एजी जोड २३ का चन्द्रमान श्रेष्ठ, अवार्ड कमिटी चेयर नुगल बैद्य लगायतले सहभागीता जनाएका थिए ।

 



ट्रेन्डिङ