बारीमै कुहिएर सकियो तरकारी, अनि खुल्यो बजार

बारीमै कुहिएर सकियो तरकारी, अनि खुल्यो बजार

रमेशकुमार पौडेल-

चितवन २६ जेठ । लकडाउन कडा हुँदै र कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै चैत्र १८ गतेदेखि बन्द भएको क्षेत्रपुरको तरकारी थोक बजार जेठ २३ देखि खुलेको छ । यो बीचमा चितवनका किसानहरुले लगाएको धेरै तरकारी सुकेर वा कुहिएर बारीमै नष्ट भइसकेको छ ।

हरियो र ताजा तरकारी उपभोक्ताको भान्सामा पुग्न सकेन । किसानले खाल्डोमा गाडेर मल बनाउनु पर्ने बाध्यता आयो । अहिले बजार खुलेको छ । तर बारीमा तरकारी छैन । तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार यो थोकबजारमा सामान्य अवस्थामा दिनमै दुई सय टनसम्म तरकारी आउने गर्दथ्यो । अहिले दिनमा दुई टन पनि आएको छैन । ‘तरकारी टिप्ने बेलामा लकडाउन भयो । रोगको सन्त्रासले विभिन्न खाले शंका उपशंका भयो । तरकारी बिक्री नै भएन । धेरै तरकारी बारीमै नष्ट भयो । अहिले आएर बजार खुलेको त छ तर तरकारी छैन,’ धितालले भने ।

यहाँको थोक बजारमा आउने धेरै तरकारी चितवनकै हुन्थ्यो । यहाँ मात्रै नभएर चितवनको तरकारी सिधै बाहिरी बजारहरुमा पनि जान्थ्यो । पूर्वी चितवन खैरहनी नगरपालिका–१ बहेरामा रहेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा संकलन हुने तरकारी प्रायस् चितवनबाहिर नै जान्थ्यो । संस्थाका अध्यक्ष पूर्णदत्त भुसाल पोखराको बजार सहज भएको भए आफूहरुलाई केही असर नपर्ने बताउँछन् । ‘दिनमै दुई करोड रुपैयाँ बराबरको तरकारी संकलन हुन्थ्यो । प्रायस् जिल्लाबाहिर जान्थ्यो । लकडाउनसँगै पोखरा जान गाह्रो भयो । पोखरा मात्रै जान पाएको भए पनि हामीलाई ठूलो असर पर्दैन थियो,’ भुसालले भने । सहकारीमा ३८० परिवार आबद्ध छन् । डेढ सय बिघामा तरकारी खेती हुन्छ । फाट्टफुट्ट तरकारी किन्न आउनेले मूल्यसमेत तोक्न नसकेपछि किसानहरुले बारीमै तरकारी नष्ट गरेर धान रोप्ने तयारीमा लागेको उनले बताए ।

तरकारी छाडेर अन्नबाली-

भरतपुर–२५ अमृतनगरकै किसान अनुप सुवेदीले १६ बिघा जमिनमा तरकारी खेती गरेका छन् । उनका बाबुले २६ वर्षअघि डेढ बिघाबाट तरकारी खेती सुरु गरेका थिए । चार वर्षयता अनुपले क्षेत्रफल बढाउँदै १६ बिघा पुर्‍याए । तर यो वर्ष सोच्दै नसोचेको विकराल संकट बेहोर्नु पर्‍यो । ‘सिमला मिर्च मात्रै ढेड बिघामा थियो । लकडाउनमा टिप्नै पाइएन,’ सुवेदीले भने । यसबाट मात्रै उनलाई २५ लाख रुपैयाँको नोक्सान भयो ।

चिचिण्डा, करेला, बोडी, लौका, टमाटर सबैको यस्तै बेहाल भयो । कति रकमको तरकारी खेर गयो भनेर हिसाबै गर्न नसकेको उनले बताए । व्यवसायिक रुपमा तरकारी खेतीमा संलग्नहरुको ‘किसान चौतारी नेपाल’ नामक संस्था छ । त्यसमा दुई सय किसान आबद्ध छन् । चार सय बिघामा तरकारी खेती भएको छ । थोरै तरकारी खेती गर्नेहरु सहकारीमा आबद्ध छन् ।

जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष हरिबहादुर थापा १० कट्ठाभन्दा माथि दुई बिघासम्म तरकारी खेती गर्ने किसानहरु सहकारीमा आबद्ध भएको बताउँछन् । २५ सयभन्दा धेरै परिवार तरकारी उत्पादन सहकारीमा आबद्ध छन् । चैत–वैशाख जस्तो मुख्य याममा नै संकट आएका कारण ठूलो नोक्सानी बेहोरेको हुँदा क्षतिको आकलन गर्न नसकेको अध्यक्ष थापाले बताए ।

‘लाख वा दुई चार करोडको कुरै छैन । करोडौंको नोक्सान भएको छ । यसको लेखाजोखा नै छैन,’ अध्यक्ष थापाले भने । सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट प्राप्त विवरण अनुसार चितवनमा तरकारी खेती हुने क्षेत्र सात हजार ५० हेक्टर रहेको छ । ९१ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्दछ । तरकारीबाट हुने आम्दानी वर्षको डेढ अर्ब रुपैयाँ रहेको ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए ।

तरकारी छाडेर अन्नबाली-

तरकारी बिक्री नभएपछि किसानले धमाधम मकै रोपे । अब धान रोप्ने तायरीमा छन् । ‘बेलैमा लकडाउन भएछ । बिक्री हुने छाँट नदेखेपछि किसानहरुले बारीमै तरकारी जोतेरै मकै छरे । मौसमले साथ दियो । मकै राम्रै भएको छ । अब धान रोप्ने धेरै छन्,’ जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघका अध्यक्ष हरिबहादुर थापाले भने । त्यसैले चितवनमा कात्तिकयता तरकारी खेती सुरु हुन नसक्ने उनले बताए । त्यो बेला पनि समय हेरेर बल्ल खेतीमा लाग्ने किसानहरुको योजना छ ।

सहकारीमा आबद्ध मात्रै होइन ठूलो मात्रामा व्यावसायिक तरकारी खेती गर्नेहरु पनि अन्नबालीतर्फ लागेका छन् । ‘यो पटक समय परिस्थिति अनुकुल भएन तर यतिमै आशा त्याग्न पनि भएन । तर आउँदो सिजनलाई पूरै जमिनमा तरकारी लगाउने पक्षमा पनि छैन । सात–आठ बिघामा धान रोप्नु पर्ला अरुमा तरकारी नै रोप्ने योजनामा छु,’ अनुप सुवेदीले भने । भदौदेखि आउँदो सिजनका लागि तरकारी रोप्न सुरु हुन्छ ।

खैरहनीमा पनि धान रोप्ने किसानहरु बढ्दै छन् । ‘तर यो वर्ष अलि चाँडै धान रोप्लान, काट्लान । त्यसो भए काउली बन्दा, केराउ चाडो रोप्लान् । हिउँदे तरकारी समयमै उत्पादन होला कि,’ ग्रामीण ताजा तरकारी उत्पादक सहकारीका अध्यक्ष पूर्णदत्त भुसालले भने । लकडाउन चाँडै खुकुलो हुँदै जाने संकेत देखिएको छ । तर कोरोना कहिलेसम्म रहन्छ थाहा छैन । होटल नखुले र पर्यटन नफस्टाएसम्म तरकारीको खपत बढ्ने सम्भावना छैन ।

‘लगाउँदै नलगाए बजारमा अभाव हुने अवस्था आउँछ । अहिलेको समस्या ख्याल नराखी धेरै लगाए बिक्री नहुने वा मूल्य नपाउने समस्या आउँछ । त्यसैले राम्रोसँग विचार गरेर किसानले तरकारी लगाउनु पर्ला,’ महानगर थोक बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले भने । यो अवस्था विचार गरेरै आफूहरुले किसानका लागि योजनाबद्ध कार्यक्रमहरु ल्याएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए ।



ट्रेन्डिङ