एम्बुलेन्स प्रयोग गरेर चरेसको खेतिपाती

एम्बुलेन्स प्रयोग गरेर चरेसको खेतिपाती

जनकपुर २५ जेठ । एम्बुलेन्समार्फत बिरामीको ओसारपसार मात्रै नभई गलत कार्य पनि भइरहेको आरोप लागिरहेको बेला सर्लाहीमा एउटा एम्बुलेन्समा चरेस बरामद भएको छ । लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाही सदरमुकाम मलंगवाबाट भारततर्फ ८ किलो चरेस लैजाँदै गरेका एम्बुलेन्स चालक र त्यसमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राति साढे ११ बजे मलंगवाबाट भारतीय बजार सोनवर्षातर्फ जाँदै गरेको रामदुलार रायलाई दशगजानजिकबाट ८ किलो चरेससहित प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ज१च १४०७ नम्बरका एम्बुलेन्स चालक मोहन राय यादव, उनीसँगै रहेका स्थानीय नथुनी ठाकुर र एम्बुलेन्सबाट चरेस भारतीय बजार लैजाँदै गरेका मलंगवा नगरपालिका–८ का रामदुलार राय रहेका छन् ।

उनीहरूको साथबाट ८ किलो १ सय ३५ ग्राम लागुऔषध चरेस बरामद भएको हो । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले आइतबार बिहान एम्बुलेन्सचालक यादवलाई नियन्त्रणमा लिइएको र एम्बुलेन्स खानतलासी गर्दा थप १ सय ३५ ग्राम चरेस बरामद भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।



ट्रेन्डिङ