केराखेती लगाउने विषयमा स्थानीयको विरोध, सहमती जुटाउने जिम्मा नगरपालिकालाई

केराखेती लगाउने विषयमा स्थानीयको विरोध, सहमती  जुटाउने जिम्मा नगरपालिकालाई

पिविएम न्यूज
रत्ननगर २२ जेठ । जिउँधनको सुरक्षा नहुने भन्दै रत्ननगर वडा नं. ५ मा बाँझो रहेको जग्गामा स्थानीयले केराखेती गर्न दिएका छैनन् । बाँझो रहेको १४ विगहा क्षेत्रफलमा व्यवसायीहरुले केराखेती गर्ने तयारी थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।  केराखेतीसँगै अपराधिक कृयाकलाप बढ्ने र जंगली जनावरको चहलपहल बढ्ने भन्दै स्थानीयले विरोध गरेका हुन ।

रत्ननगर नगरपालिकाको वडा नं. ५ को वडा कार्यालय भवनपछाडी शिवालय मन्दिरसँगै रहेको १४ विगहा क्षेत्रफलमा व्यवसायीक केराखेती गर्ने तयारी छ । केराखेती गर्ने उद्देश्यले नै यो जग्गा बाँझो राखिएको थियो । त्यसअघि दुइबाली धान खेती र एकबाली तोरीखेती हुँदै आएको थियो । केराखेती लगाउने तयारी भइरहेको खबर पाएका स्थानीयहरु वडा कार्यालयमै पुगेर केराखेतीका लागि स्वीकृत नदिन जनप्रतिनिधिहरुलाई दवाव दिएका छन् । मानिसहरुको बसोबास भएको वस्ती नजिकै भएकाले अपराधिक कृयाकलाप देखि जंगलीजनावरहरु आउन सक्ने त्रासले स्थानीयहरु केराखेतीका लागि विरोध गरेको हुन । केराखेती बाहेक, तरकारी खेती , फलफुल खेती लगायत अन्य सबैखालका खेती गर्न स्थानीय छुट दिएका छन् । केराखेती बाहेक अन्य खेती गर्न भनेका छौं, स्थानीय कल्पना तिमिल्सेनाले भनिन – ‘अरु खेती गर्दा हामी आफैले बरु सहयोग गछौं ।’

यो विषयमा वडा कार्यालयमा तीन पटक सम्म छलफल भयो । तर सहमती जुटेन । स्थानीयका अनुसार केराखेती लगाउने बारे सबै साधियारहरु सँग परामर्श र सहमती गरेका छैनन । वडावाट सहमती नजुटेपछि नगरपालिकामै छलफल गर्न पुग्ने दुवैपक्षले राजि जनाएका छन् । स्थानीय राजाराम रेग्मी, गोपाल प्रसाद रिजाल र स्वर्गीय रामजीप्रसाद रिजालले केराखेतीका लागि जग्गा भाडामा दिने सहमती जनाएका छन् । उनीहरु जग्गा धनीहरु हुन । रामजीप्रसाद रिजालको केहिदिन अघिमात्रै मृत्युभएको हो । चितवन राष्ट्रिय निकुञ्ज सँगै वरण्डाभार क्षेत्रका मध्यवर्ती सामुदायिक वन नजिकै भएकाले जंगलीजनावरहरु मानविय वस्तीमा प्रवेश गर्न सक्ने डर स्थानीयमा छ । केहि समय अघि घरभित्रै चितुवा आएर बाख्रा मारेको घटनाले झन उनीहरुमा त्रास पैदा भएको छ ।

जंगलीजनावर सँगै लुटपाट हुन सक्ने र केराखेतीमा हुने विषादी प्रयोगले मानविय स्वास्थ्यमा असर पर्ने उनीहरुको बुझाई छ । केहिवर्ष अघि टाँडीबजार बाट देवौलीहुँदै टरौली घर जाने क्रममा मकैबारीमा लुकेर बसेका लुटेराहरुले मोटरसाईकल चालकलाई कुटपिट गरेर उसँग भएको सामान लुटेर भागेका थिए । ‘यस्तै घटना हुने त्रासले केराखेती रोक्न खोजेका हौं’– स्थानीय युवा सुजन सापकोटाले भने ।  केरा उत्पादक संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले भने आफुले केराखेती गर्न पाउनुपर्ने बताए । ‘बाँझो रहेको जग्गामा कृषिकर्म गर्न नपाउने भन्ने हुँदैन’ उनले भने । केराखेतीका लागि सम्बन्धित जग्गाधनीहरुसँग फागुन महिनामा सम्झौता गरिएको थियो ।

पन्तले अहिले केराखेती गर्ने भनिएको जग्गा भन्दा सयमिटरकै दुरीमा १ वर्ष अगाडीदेखि ७ विगहा जग्गामा केराखती गर्दै आएका छन् । ‘वरिपरी अरुले पनि खेती गर्दै आएका छन’ उनले थपे । फागुन महिना केराखेती गर्ने सिजनको रुपमा लिइन्छ । समयमा केराको खेती लगाउन नपाउँदा केराको विउँ त्यसै खेर गएको उनले बताए । पाँचवर्षका लागि उनले सम्झौता गरेका थिए । अरुको बालीमा असर नपर्नेगरी खेती गर्ने तयारी गरेको बताउँदै पूर्व अध्यक्ष पन्तले यो बीचमा भएको घाटाको क्षतिपूर्ती कस्ले दिने प्रश्न गरे ।

यो विवादमा रत्ननगर उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी समेत मुछिएका छन् । केराखेती गर्ने भनिएको जग्गा मध्ये १ विगहा जग्गा अध्यक्ष रेग्मीको छ । उनले खेती योग्य जमिनलाई बाँझो राख्न नहुने बताए । केराखेतीका लागि गरिएको विरोध व्यवहारिक नभएको समेत उनको तर्क छ ।  केराखेतीको विषयमा उठेको विवाद अहिले नगरपालिकाको न्यायिक समितिमा पुगेको छ । सहमतिका लागि शुक्रवार दुवै पक्ष छलफलमा सहभागी भए । तर टुंगो लागेन । न्यायिक समितिले भोली आफ्नो निर्णय सुनाउने तयारीमा छ । त्यसका लागि छलफल र परामर्श जारी छ । उता विरोधमा उत्रिएका युवाहरु जवरजस्ती केराखेती गरिए आफुहरु न्यायका लागि अदालत सम्म पुग्ने बताएका छन् ।



ट्रेन्डिङ