लकडाउनले चैतमा सक्नुपर्ने दुई जलविद्युत आयोजनाको काम अधूरै

लकडाउनले चैतमा सक्नुपर्ने दुई जलविद्युत आयोजनाको काम अधूरै

बेंसीसहर २४ जेठ । कोरना संक्रमण रोक्न जारी लकडाउनका कारण गत चैत महिनामा सम्पन्न हुने भनिएका लमजुङका निर्माणाधीन दुई जलविद्युत् आयोजना प्रभावित भएका छन्। जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए र मस्र्याङदी ङादी खोलामा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना प्रभावित बनेका हुन्।

आवश्यक निर्माण सामग्री ढुवानी र पर्याप्त कामदार नहुँदा आयोजनाको काम लम्बिएको छ। लिबर्टी इनर्जी प्रालिद्वारा प्रवद्र्धित माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको निर्माणकार्य चैत महिनामा सकेर वैशाखमा विद्युत् उत्पादन गर्ने लक्ष्य थियो। तर लकडाउनका कारण काम रोकिँदा विद्युत उत्पादन मिति लम्बिएको छ।

सरकारले ठूला आयोजना निर्माणका काम अघि बढाउन निर्देशन दिएपनि स्थानीय कार्यक्षेत्रमा समस्या रहेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार काम सुचारु गर्न आवश्यक केही महत्वपूर्ण सामग्री भारतदेखि ल्याउनुपर्ने हुँदा ढुवानीमा समस्या भएको छ। पर्याप्त कामदारसमेत छैनन्। हाल आयोजनाको काम सुचारु भए पनि सामग्री र जनशक्ति अभावमा अपेक्षित गतिमा काम हुन नसकेको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए। २०७१ असोजबाट निर्माण थालिएको सो आयोजनामा बाँधक्षेत्र निर्माण, पावर हाउस, इलेक्ट्रोमेकानिकल लगायतको काम अन्तिम चरणमा पुगेको छ। आवश्यक सामग्री ढुवानी गर्नसके आगामी दुई महिनामा काम सम्पन्न गर्न सकिने भए पनि हालको अवस्थाले आयोजना निर्माण सम्पन्न हुने मिति अनुमान गर्न नसकिएको प्रवद्र्धक वस्तीको भनाइ छ।

हालसम्म ९८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। भूकम्पपछिको अघोषित नाकाबन्दी र गतसाल भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ। यसैगरी मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य पनि लकडाउनका कारण प्रभावित भएको छ। २०७३ चैतबाट निर्माण सुरु भएको सो आयोजनाले संरचना निर्माणको काममा गति दिएपनि आवश्यक निर्माण सामग्री नहुँदा सम्पन्न गर्न नसकेको जनाएको छ।

अप्रिल महिनामा काम सम्पन्न हुने भनिएको आयोजनामा आवश्यक सामग्री ढुवानी हुन नसक्दा काम नै रोकिएको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। वर्षाको समय आइसकेकाले खोलाको बाँधक्षेत्रमा काम गर्न कठिन हुने हुँदा आयोजना कहिले सकिन्छ भन्नेमा अन्योल भएको गुरुङको भनाइ छ। हाल आयोजनामा चिनियाँ कामदारले सामान्य काम गरे पनि सामग्री अभावका कारण पहिलेको गतिमा काम गर्न नपाएको आयोजनाले जनाएको छ। आयोजनाअन्तर्गत हाल हेडवक्र्समा केही काम रहेको र वर्षाअघि त्यो काम सम्पन्न गर्नसके केही महिनामै आयोजनाको काम पूरा हुने जनसम्पर्क अधिकृत गुरुङको बताउछन्।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ। नदीको बहाबमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ।



ट्रेन्डिङ