कालिका वडा नं. १ ले बनायो पूर्वी चितवनकै नमुना र व्यवस्थ्ति क्वारेन्टाइन ( फोटोफिचर )

कालिका वडा नं. १ ले बनायो पूर्वी चितवनकै नमुना र व्यवस्थ्ति क्वारेन्टाइन ( फोटोफिचर )

सन्तकुमार चौधरी
कालिका २३ जेठ । चितवनको कालिका नगरपालिकाको वडा नं. १ ले विदेशवाट आउने वडाबासीहरुका लागि सुविधायुक्त क्वारेन्टाईन निर्माण गरेको छ । वडा नं. १ मा रहेको आधारभूत विद्यालय शमीपुरलाई क्वारेन्टाईनको रुपमा तयार पारिएको हो । पूर्वी चितवनकै व्यवस्थित क्वारेन्टाईनको रुपमा वडाले यो क्वारेन्टाईनलाई व्यवस्थापन गरेको छ । तत्कालका लागि २ महिला सहित १० जनाका लागि वेडको व्यस्थापन गरिएको छ ।

वेडसँगै क्वारेन्टाईनमा बस्नेहरुका लागि वाईफाई, प्रत्येक वेडमा एउटा माबोइल चार्ज गर्नेठाउँ, प्रत्येका लागि फोहोर फाल्ने डस्विन, चप्पलको व्यवस्थापन गरिएको छ । पुरुषहरुका लागि दुईवटा कोठामा सामाजिक दुरी कायम गर्दै चार चारवटा वेडहरु राखिएको छ । यस्तै महिलाका लागि भने एउटा कोठमा दुईवटा बेट राखिएको छ । तत्काल पाँच वेड थप गर्ने तयारी छ । क्वारेन्टाईनमा आउनेहरुको संख्या बढ्दै गए आवश्यकताका आधारमा अन्य वेडहरु थपगर्ने गरी पूर्व तयारी गरिएको छ ।
क्वारेन्टाईनको व्यवस्थापन भएसँगै २ जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा बसेर सेवा दिन सुरु गरेका छन् । त्यसका लागि क्वारेन्टाईन भित्रै सचिवालय निर्माण गरिएको छ । सचिवाल मार्फत नै क्वारेन्टाईनमा बस्नेहरुको दैनिक स्वास्थ्य परीक्षण हुनेछ । क्वारेन्टाईनमा बस्नेहरुको सुरक्षाका लागि आउने सुरक्षाकर्मीका लागि छुट्टै कोठाको व्यवस्थापन गरिएको छ । सामाजिक दुरी कायम गर्ने गरी उनीहरुका लागि बस्ने व्यवस्थापन मिलाइएको शमीपुर विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले जानकारी दिए ।  क्वारेन्टाईन निर्माणदेखि यसको व्यवस्थापनमा स्थानीयहरु स्वतस्फुर्त रुपमा जुटेका छन् ।

स्थानीयहरु आलोपालो गरेर क्वारेन्टाइन स्थल पुग्छन । क्वारेन्टाईन क्षेत्रको सरसफाई देखि तारबार लगायत अन्य काममा पूर्ण रुपमा भोलेन्टियर भएर सहयोग गरिरहेका छन् । ‘गाउँका स्थानीय महिला, पुरुष, युवा सबैको सहभागीताले क्वारेन्टाइन व्यवस्थित र नमुनाहुनेमा हामी आशावादी छौं ’– विद्यालयका प्रधानाध्यापक रायमाझीले भने । क्वारेन्टाइन तयार भएपनि अहिले सम्म क्वारेन्टाइनमै बस्नेगरी कोही पनि पुगेका छैनन् । वडा अध्यक्ष लिलावहादुर गुरुङले ३ सय ९२ जना आफ्नो वडाबासी विदेशमा रहेको जानकारी दिए । विदेशमा बस्ने संख्याको आधारमा आफुले क्वारेन्टाईन व्यवस्थापन गरेको बताए । उनका अनुसार ३ सय ९२ जना मध्ये २ सयजना नेपाल फर्कीने सम्भावना छ । दुईतीन दिनमित्र भारतवाट एकजना आउने सूचना आइपुगेको अध्यक्ष गुरुङले बताए ।  उनका अनुसार १५ तारेखभित्र भारतवाट सातजना आउँदैछन ।

यसैगरी यो महिना भित्रै हवाई उडान संचालन भएमा कतार र कुवेतवाट ५० जना आउने सूचना प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।  यहाँआउनेहरुका लागि कुनैपनि खालका आधारभूत आवश्यकताको अभाव हुन नदिन जनप्रतिनिधिहरु सँगै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि सक्रिय भएर जुटेका छन् । क्वारेन्टाइन राख्ने विषयमा अन्य वडाहरुमा विवादहरु उत्पन्न भइराख्दा वडा नं. १ मा मने स्थानीय आफै क्वारेन्टाईन व्यवस्थापनमा हौसिएको देख्दा सबैलाई हौसला मिलेको छ । क्वारेन्टाईनमा बस्नेहरुका लागि मनोरञ्जन दिने उद्देश्यले प्रोजेक्टरवाट सामाजिक, चेतनामुलसँगै मनोरञ्जनात्मक चलचित्रहरु देखाउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर खड्का जानकारी दिए ।

अध्यक्ष खड्काका अनुसार यहाँ बस्नेहरुलाई खानपानमा पनि विशेष ध्यान दिइनेछ । नास्ताका लागि विहान चियाँ र अन्डा दिइनेछ । हप्तामा दुईपटक सम्म मासुको समेत व्यवस्थापन हुनेछ । अन्य दिनमा भने दालभात तरकारीको राम्रो व्यवस्थापन छ ।  वडाले विदेशवाट आउनेहरुका लागि मात्रै नभई बाहिरी जिल्लाबाट आउनेहरुमा समेत निगरानी बढाएको छ । अहिले पनि बाहिरी जिल्लाबाट वडामा आउने ६ जनालाई निगरानी गरिरहेको छ । काठमाण्डौंबाट १ जना, नवलपुरको गैडाकोटबाट १ जना, ३ जना म्याग्दीवाट र एकजना जना भरतपुर क्यान्सर अस्पतालमा विरामी कुरुवा भएर बसेका थिए । उनीहरु आफ्नै घरमा होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको फ्लोअप शमीपुर विद्यालयमा रहेका स्वास्थ्यकर्मीहरुले नै गर्दै आएका छन् । उनीहरुलाई घरमै गएर भेट्ने अवस्था बुझ्ने काम गर्दै आएका छन् । ‘ समस्या देखियोभने हामीले आवश्यकताका आधारमा आइसोलेसेनमा पठाउँछौं तर अहिले सम्म त्यस्तो अवस्था आएको छैन एक स्वास्थ्यकर्मीले भनिन । प्रत्येक टोल विकास संस्थाका पदाधिकारीहरुले आ–आफ्नो टोलमा आउने नयाँ अनुहारहरुको निगरानी गर्दै आएका छन् । कालिका नगरपालिकाको प्रत्येक वडाले आ–आफ्नो वडाबासीका लागि बेग्लै क्वारेन्टाइन तयारी बनाएका छन् । अहिले २० जना नगरको विभिन्न वडाको क्यारेन्टाइनमा बसिरहेका छन् । अहिले २० जना नगरको विभिन्न वडाको क्यारेन्टाइनमा बसिरहेका छन् । कालिकाको वडा नं. ७, ८ र वडा नं. ४ को जुटपानीमा १५ जना छन्, यस्तै वडा न. ६ को रेडक्रसको क्वारेन्टाइनमा ५ जना गरी २० जना रहेका छन् ।

 

 



ट्रेन्डिङ