लकडाउनको उल्लंघन गर्दै खुल्यो काठमाडौंका व्यवसायीहरुले पसल खोले

लकडाउनको उल्लंघन गर्दै खुल्यो काठमाडौंका व्यवसायीहरुले पसल खोले

काठमाडौं २२ जेठ । काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका छन् । बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् ।कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो ।

महासंघको निर्णय पछि सबैले पसलहरु खुला गरेका हुन् । महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए । लामो समयसदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेको कारण पसल व्यवसाय खोल्न बाध्य भएको उनले बताए । राज्यलाई तिर्ने कर, घर भाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरु खुला गर्नु परेको उनले बताए ।

महासंघका महासचिव अञ्जन शाक्यले लकडाउन उल्लंघन गर्नु रहर नभएको बताए । उनले यसलाई लकडाउन उल्लंघनको रुपमा नभई जिविकोपार्जनका लागि पसलहरु खोलिएको रुपमा बुझ्नु पर्ने बताए । बानेश्वरलगायत क्षेत्रहरुमा विहानै पसल खोल्न पुगेका केही व्यवसायीहरुलाई भने प्रहरीले फर्काइदिएको छ । जबर्जस्ती खोले बल प्रयोग गर्ने प्रहरीको चेतावनी पछि वानेश्वर लगायतका केही क्षेत्रका पसलहरु भने खुल्न बाँकी रहेको महासंघले बताएको छ ।

यद्यपि, आजै सबै क्षेत्रका पसलहरु खुला गर्ने महासंघले बताएको छ । ‘अहिले न्युरोड, इन्द्रचोक, भोटेबहाल, कोटेश्वर लगायतका धेरै ठाउँका पसलहरु खुला भइसकेको छ,’ महासंघका अध्यक्ष कटुवालले भने, ‘केही ठाउँमा खुलाउन प्रहरीले अवरोध गरेको सूचना आएको छ, अवरोध गरेर हुँदैन, कसरी हुन्छ हामी सबै ठाउँमा खोल्ने पक्षमा छौँ ।’



ट्रेन्डिङ