उद्योगी, व्यवसायीहरुको पक्षमा सरकार देखिएन -उद्यागी, व्यवसायी

उद्योगी, व्यवसायीहरुको पक्षमा सरकार देखिएन -उद्यागी, व्यवसायी

बिक्रम कंडेल –
चितवन २२ जेठ । बुधवार चितवनको नारायणगढ बजारमा एकछिन रमाइलो देखियो । व्यापार व्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै सटर खोल्दै थिए । अर्को तर्फ जारी लक डाउन उलंघन नगर्न प्रहरी प्रशासन सटर बन्द गर्न लगाउँदै थिए । यो क्रम केहि राम्रैसँग चल्यो । धमाधम बजार खुल्न थालेको खबरले चितवन प्रमुख जिल्ला अधिकारी आफै बजार बन्द गर्न नारायणगढ पुगे ।

जारी लकडाउनकै बेला सरकारले कर तिर्न ताकेता दिएपछि चितवनका व्यवसायीहरु रुष्ट बनेका छन् । सरकारको चौतर्फी आलोचना समेत भयो । जसका कारण सरकारले ताकेता १५ दिन थप्न बाध्य भयो । सरकारले थप गरेको १५ दिने समय पनि प्रयाप्त नभएको व्यवसायीहरुको भनाई छ । कम्तीमा सम्पूर्ण व्यवसाय संचालन भएको १ महिनाको अवधिमा कर विवरण बुझाउने र तीन महिनाभित्र कर रकम बुझाउने गरी ताकेता गर्न सरकारलाई सुझाव दिएका थिए । तर त्यसो भएन । सरकारले तीब्र आलोचनाका बीच १५ दिने समय अवधि थप गरेको छ ।

चितवन उद्योगसंघले विज्ञप्ति नै जारी गरेर व्यवसायीलाई कमजोर बनाउन सरकार सक्रिय भएको आरोप समेत लगाएको छ । करोडौँ लगानी डुब्ने अवस्थामा पुगेका व्यवसायीलाई समस्यामा परेको बेला राहतका प्याकेज दिनुको साटो करको समय अवधि थोरै दिएर लादन खोजेको भनिएको छ । केहि उद्योगहरु सञ्चालन अनुमति दिइएको भएता पनि कामदारहरुको अभाव, कच्चा पदार्थको अभाव लगायका समस्याले सम्पूर्ण उद्योग हुने सकेको छैन । केहि उद्योग संचालन भएको भएपनि उत्पादनको वितरण प्रणालीमा समस्या सिर्जना भएको उद्योगी व्यवसायीहरुको भनाई छ ।

राज्यको निर्देशन बमोजिम कर तिर्न उद्योगी, व्यवसायीहरु सक्षम नहुने र आर्थिक वर्ष २०६७ / ०७७ सँग सम्बन्धित सम्पूर्ण करहरु लकडाउन खुलेर सम्पूर्ण उद्योग, व्यवसाय पूर्ण सञ्चालनमा आएको तीन महिना पछि मात्र तिर्ने व्यवस्थाका लागि नेपाल सरकार लगायत सम्बन्धित निकायसंग जोडदार माग गरेको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताए । उनले विज्ञप्तिनै जारी गरेर लकडाउन अवधिको ब्याज मिनाहा सहित उद्योगी, व्यवसायीलाई पलायन हुनबाट जोगाउन र आर्थिक पुनरुत्थानका लागि नेपाल सरकारसंग विभिन्न मागहरु पेश गर्दै गरेका छन् । तरपनि नेपाल सरकारबाट यथोचित सम्बोधन नभएको यस विषम परिस्थितिमा उद्योगी, व्यवसायीको मनोबल उच्च बनाउन नसक्दा उद्योग, व्यवसाय बन्द हुने र राज्यले निकट भविष्यमा ठूलो आर्थिक संकट पर्ने संकेत देखिएको छ ।

चितवन उद्योग संघका पूर्व अध्यक्ष सोमराज मरहट्टाले पनि यस्तो बेलामा राज्यले केही सहुलियत ल्याउनुपर्ने थियो ल्याएन, न ब्याजमा उचित छुट दिइयो र न घरभाडा नै छुट भएको गुनासो गरे । लकडाउनकै बेला जसरी पनि कर तिर्न आइज भनेर मनोवल गिराउने काम भएको छ, यस्तो ठीक भएन , उद्योगहरु सञ्चालन नभएका कारण आम्दानी नै नहुदा कर्मचारी पाल्नसमेत समस्या परेका बेला राज्यले यस्तो निर्णय लिनु गलत भएको उनको भनाई छ ।



ट्रेन्डिङ