लुम्बिनीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुग्यो

लुम्बिनीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुग्यो

भैरहवा २० जेठ । विश्वव्यापी महामारीका रुपमा विस्तारित कोरोना भाइरस (कोभिड१९) का कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुन गति लिएको छ । सामाजिक दुरी, सेनिटाइजरको प्रयोगलगायत आवश्यक स्वास्थ्य सावधाानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माण कार्य अगाडि बढेको पर्यटन मन्त्रालयले जनाएको छ ।

काम अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट थप कामदार ल्याएर काम फेरि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माणको काम दुई वर्ष अगाडिबाट शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मै सम्पन्न गर्ने गरी ०७४ चैत ६मा सम्झौता भएको थियो ।कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको छ । ‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने तयारी मन्त्रालयले गरेको थियो ।

तर, कोरोना भाइरसको संक्रमणसँगै उक्त योजना प्रभावित बनेको थियो । लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राइका अनुसार केहि निर्माण सामाग्री चीनवाट ल्याउनुपर्नेछ, ती सामग्री जडान बाहेकको काम अब चाँडै पुरा हुने भएको छ । यो आयोजनाको लागत समेत १० करोड कम भएको उनले जानकारी दिए । निर्माण कार्य सम्पन्न हुँदासम्म २८ करोड १३ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।पहिलो चरणको ८५ प्रतिशत काम सकिएको राईले बताए । उनका अनुसार कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो ।

अहिले हेटौडा र काठमाडौंबाट दक्ष कामदार ल्याएर काम शुरु गरिएको हो । छानो, वाथरुम, मार्वल हाल्नेलगायत काम अलग अलग क्षेत्रमा कोभिड १९ विरुद्ध स्वास्थ्य निर्देशका पालना गर्दै शुरु भएको हो । आयोजनामा अहिले करिव ६० जना कामदार खटिएका छन् ।पहिलो चरणको काम सकिएपछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, बाहिर पानीको फोहरालगायत काम दोस्रो चरणमा पर्छन् । सन् २०१६ को अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन मनाउनेक्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए ।



ट्रेन्डिङ