१२ वर्षमा ४० लाखले नारायणहिटी सङ्ग्रहालय हेरे

१२ वर्षमा ४० लाखले नारायणहिटी सङ्ग्रहालय हेरे

रमेश भारती-
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रका सबै परिवारको हत्या भएको १९  वर्ष पूरा भएको छ । १९  जेठ २०५८ मा आयोजना भएको नियमित शुक्रबारे रात्रिभोजका क्रममा दरबार हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत राजपरिवारका अन्य  सबै सदस्यको हत्या भएको थियो । १९ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्रको परिवारसहित १० जनाले ज्यान गुमाएका थिए । नेपालमा धेरै हत्याकाण्ड भए पनि एकै पटक राजपरिवारको हत्या भएको यो पहिलो घटना हो ।

रहस्यमय हत्याकाण्ड भएको दरबार बन्यो सङ्ग्रहालय

राजपरिवारका सदस्यको हत्यापछि सरकारले बनाएको छानबिन टोलीले तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएर बुबा वीरेन्द्रसहित सबैको हत्या गरेको र आफैँले आफूमाथि गोली चलाएर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरे पनि सर्वसाधारणले उक्त प्रतिवेदनको विश्वास गरेका छैन । आमनेपालीले उक्त प्रतिवेदनलाई पत्याउन सकेनन् र दरबार हत्याकाण्ड ‘रहस्यमय हत्याकाण्ड’को रूपमा आजसम्म रहेको छ । १९ वर्षअघि ठूलो नरसंहार भएको नारायणहिटी राजदरबार अहिले सङ्ग्रहालयको रूपमा सार्वसाधारणले अवलोकन गर्ने गरी खुला गरिएको छ । २ सय ३८ वर्ष शासन गरेको राजतन्त्र हट्दै गणतन्त्र स्थापना भएपछि राजदरबार सङ्ग्रहालय २०६५ सालदेखि सबैका लागि खुला गरिएको थियो ।

दरबार हत्याकाण्ड भएको १४ वर्षपछि हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्र शाहले भत्काउन लगाएका थिए । उक्त त्रिभुवन सदनको बिलियार्ड हलभित्र तत्कालीन राजाको परिवारका सदस्यहरूको हत्या भएको थियो । उक्त बिलियार्ड हलको जगबाट गारो उठाएर पुन: बनाइएको छ । हत्याकाण्डपछि रानी ऐश्वर्यको जुत्ता त्रिभुवन सदनभित्रको बिलियार्ड हलमा भेटिएको थियो भने शव दीपेन्द्र निवासको भर्‍याङमा फेला परेको थियो । सङ्ग्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका २१ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ । राजाहरूले चढेका गाडीसमेत सङ्ग्रहालयमा राख्ने तयारी भइरहेको सङ्ग्रहालयले जनाएको छ ।

धेरैको प्रश्न : हत्यारा को ? 

नारायणहिटी सङ्ग्रहालयमा लकडाउन हुनुअघि दैनिक ३ हजारभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक घुम्ने गरेका थिए । २०६५ सालदेखि सञ्चालनमा आएदेखि नारायणहिटी सङ्ग्रहालय अहिलेसम्म करिब ४० लाख आन्तरिक र विदेशी पर्यटकले अवलोकन गरेका छन् । दरबार सङ्ग्रहालय अवलोकन गर्ने आउने  अधिकांशले १९ जेठको घटना स्मरण गर्ने गरेका छन् । हत्याकाण्ड कसले घटायो वा कसले गोली चलायो ? भन्दै सङ्ग्रहालय घुम्न आउने सर्वसाधारणले प्रश्न गर्ने गरेको सङ्ग्रहालयका एक कर्मचारीले बताए । नारायणहिटी राजदरबार मात्र नभएर नरसंहार भएको स्थानसमेत हो । त्यस कारण पनि आममानिसलाई उक्त स्थानबारे घुम्न धेरै चासो हुने गरेको छ ।

१६ माघ २०६५ देखि सर्वसाधारणका लागि खुला भएको सङ्ग्रहालयमा २०७६ वैशाखसम्म (करिब ११ वर्षको अवधि)मा ३१ लाख ७८ हजार ६ सय जना पर्यटकले भ्रमण गरेका छन् । त्यसबाट सङ्ग्रहालयले २७ करोड ३७ लाख ५८ हजार ७ रुपैयाँ राजस्व असुल गरेको नारायणहिटी सङ्ग्रहालयले जानकारी दिएको छ । यस अवधिमा सार्क राष्ट्रबाट ९० हजारभन्दा धेरैले सङ्ग्रहालयको अवलोकन गरेका थिए भने तेस्रो मुलुकका २ लाख २० हजारभन्दा धेरै पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका सङ्ग्रहालयले जनाएको छ ।नारायणहिटी सङ्ग्रहालयको पर्यटक संख्या र आम्दानी उत्साहप्रद देखिएको छ । नेपालकै विशिष्ट सङ्ग्रहालय बनाउन सकिने नारायणहिटी सङ्ग्रहालयका प्रमुख अदैतप्रसाद श्रेष्ठले बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयमा धेरै अध्ययनका लागि घुम्न आउने गरेको सङ्ग्रहालयका प्रमुख श्रेष्ठले बताए ।

‘नेपाल भित्रिने पर्यटकको गन्तव्यभित्र नारायणहिटी सङ्ग्रहालय पनि पर्छ । तर, राज्यले योससङ्ग्रहालयलाई प्राथमिकताभित्र राख्नुपर्छ । यस्ता सङ्ग्रहालयले इतिहास बुझ्ने र अध्ययन गर्ने माध्यम हुन्छन् । यसका लागि सरकारले विशेष योजना बनाउनुपर्छ’, उनले भने, ‘संसारमा सङ्ग्रहालयहरू फस्टाएको देखिएको र सुनिएको छ । नारायणहिटी सङ्ग्रहालयका त्यस्तै हुन सक्छ ।’पछिल्लो समय नारायणहिटी सङ्ग्रहालय पर्यटन स्थल बन्दै गएको पाइन्छ । कतिपय नेपाल घुम्न आएका विदेशी पर्यटक लागि नारायणहिटी सङ्ग्रहालयले अध्ययन केन्द्र पनि बन्दै गएको छ ।ठमेल र दरबारमार्गमा घुम्न जाने पर्यटक नारायणहिटी सङ्ग्रहालय छिर्ने गरेको उनको भनाइ छ । नारायणहिटी सङ्ग्रहालय घुम्न आउनेको जिज्ञासा हत्या कसरी भयो ? के कारण राजा वीरेन्द्रका वंश नास भयो ? हुने गरेको उनको भनाइ छ ।

श्रीपेच राखियो  

सङ्ग्रहालय जाने धरैले राजाहरूले लगाउने श्रीपेच हेर्न लामो समयसम्म पाएका थिएनन् । २ वर्षअघि श्रीपेच सार्वजनिक गरिएको छ । उच्च सुरक्षाका साथ श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका थिए । बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामग्री राखिएको छ । यस श्रीपेचमा ७ सय ५० वटा हीराका टुक्रा छन् भने कल्कीबाहेकका भागमा हीरा-मोती, माणिक, नवरत्न, सुन जडित छन् । नारायणहिटीको सैलुन कक्षमा रहेका यी सामग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिएको छ ।

दैनिक ३ हजारसम्म अवलोकनकर्ता सङ्ग्रहालय आउने गरेका छन् । सङ्ग्रहालयले घुम्न आउने विद्यार्थीका लागि २० रुपैयाँ, नेपाली नागरिकका लागि १ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ र तेस्रो देशका नागरिकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको सङ्ग्रहालय जनाएको छ । सङ्ग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । सङ्ग्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएकोे छ ।



ट्रेन्डिङ