बाँके दुर्घटनाका घाइतेहरुको पहिचान खुल्यो, मृतकहरुको सनाखत हुन बाँकी

बाँके दुर्घटनाका घाइतेहरुको पहिचान खुल्यो, मृतकहरुको सनाखत हुन बाँकी

बाँके १९ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताए ।

मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताए । उनले भने, ‘सनाखत गर्ने क्रम चलिरहेको छ । टिकट काटेर गाडी चढेको जस्तो भए सनाखत गर्न छिटो हुने थियो ।’

घाइतेहरुको पहिचान खुल्यो, मृतकहरुको सनाखत हुन बाँकी
बाँकेमा भएको सवारी दुर्घटनाका घाइतेको पहिचान भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जानेक्रममा राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गए राति करीब १२ बजे ना ५ ख ५९९५ नम्बरको हायस मिनीबस रोकेर राखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ यात्रु घाइते हुनुभएको थियो ।

दुर्घटनामा घाइते हुनुभएका दाङ घोराही उपमहानगरपालिका धर्नाका ४५ वर्षीय मेगराम केसी, रोल्पा त्रिवेणी गाउँपालिका –७ तिलाका १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, दाङ तुलसीपुर उपमहानगरपालिका –२ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी, सल्यान शारदा नगरपालिका – ६ का २६ वर्षीया टीका चलाउने, दाङ राजपुर गाउँपालिकाका २० वर्षीय दीपेश चौधरी, तुलसीपुर –२ खैरीकोट निवासी २३ वर्षीय रुपलाल केसी, रोल्पा कुरैलीका ५२ वर्षीय नरबहादुर विक।, दाङ राजपुर गाउँपालिका –२ रैमनियाका २१ वर्षीय जीवन घर्ती र रोल्पा टुटुका ४० वर्षीय दिलबहादुर विकको भेरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिका –६ निवासी २० वर्षीय मीनराज विक, सल्यान सिद्धकुमाख गाउँपालिका–५ दह निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी, वडा नं ४ निवासी २८ वर्षीय लोकेश घर्ती, कुपिण्डे नगरपालिका –६ गोगनकटवा निवासी ५२ वर्षीय दीपबहादुर बुढा, सल्यानकै छापदरा निवासी १८ वर्षीय धनबहादुर बोहरा, दाङ गढवा गाउँपालिका –६ मानपुर निवासी २० वर्षीय भरत थापा, सल्यान सिद्धकुमाख गाउँपालिका –५ वडाकोट निवासी २६ वर्षीय निमबहादुर वली, सोही गाउँपालिकाकै वडा नं ५ दह निवासी १८ वर्षीय देवेन्द्र बुढाथोकी, शिव भण्डारी र १७ वर्षीय ज्ञानबहादुर बोहरा घाइते हुनुभएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । शवको भने सनाखत हुन नसकेको प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।



ट्रेन्डिङ