लोकबाजा चिनाउँदै प्रविधि सिकाउँदै, प्रविधिमैत्री शिक्षक समाज

लोकबाजा चिनाउँदै प्रविधि सिकाउँदै, प्रविधिमैत्री शिक्षक समाज

कारी महतो
चितवन १८, जेठ । लकडाउनको अवधिमा प्रविधि सिक्दै सिकाउँदै आईरहेको प्रविधिमैत्री शिक्षक समाज नेपालको निःशुल्क प्रविधि तालिम कार्यक्रमहरु अझ परिष्कृत हुँदै गएको छ । जुम मिटिङ एपको माध्यमबाट चैत महिनादेखि नै निरन्तर रुपमा प्रविधि सिकाउँदै आएको शिक्षक समाजले अहिले प्रविधि तालिममा लोकबाजाको सुमधुर संगीत पनि पस्किन थालेको छ ।

प्रविधिमैत्री शिक्षक समाज पाल्पा शाखाको आयोजनामा हरेकदिन ५ः१५ बजेदेखि हुने अनलाइन भर्चुअल तालिममा हिजो बर्दिया जिल्लाका शिक्षक प्रभात सुवेदीले मल्टिमिडिया शीर्षकमा दुई घण्टासम्म प्रशिक्षण दिए । शिक्षक सुवेदीले मुर्चुङ्गाको संगीतबाट शुरु गरेको तालिमको अन्तमा धनकुटा जिल्लाका शिक्षक दिपक काफ्लेले सारङ्गीको धुनमा राष्ट्रिय भाव झल्किने गीत निकै मीठो स्वरमा गाउँदै समापन गरेका थिए ।

यसबाट प्रविधि सिक्न चाहने शिक्षकहरु थप आकर्षित हुन थालेका छन् । सिक्दासिक्दै तालिममा नवप्रवेशी शिक्षकहरुले समाजको सदस्यता लिनका लागि बैंक खाता नम्बर माग्न थालेका छन् । प्रविधिमैत्री शिक्षक समाजको आजीवन सदस्यता शुल्क दुई हजार छ । हिजोको तालिममा ४४३ जना शिक्षकहरु सहभागी भएका थिए । तालिममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले होस्ट गरेका थिए ।



ट्रेन्डिङ