प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने

काठमाडौं १८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ ।

संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका हुन् ।कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको छ ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।



ट्रेन्डिङ