चितवनका पुरन चौधरीले तरकारी खेती गरेरै छोरालाई इन्जीनियर बनाए

चितवनका पुरन चौधरीले तरकारी खेती गरेरै छोरालाई इन्जीनियर बनाए

सन्तकुमार चौधरी –
चितवन १७ जेठ । पुरुन चौधरी एकजना किसान हुन । पूर्वी चितवनको राप्तीनगरपालिका वडा नं. ६ भण्डारामा उनको घर छ । २०४० सालदेखि खेतपातीमा सक्रिय रहदै आएका चौधरी अहिले व्यवसायिक तरकारीखेतीमा व्यस्तछन । भण्डारामै उनले २ विगहा जग्गामा तिराई, भेडें खुर्सानी, गोलभेडा लगाएका छन् ।  ३ छोरा सहित ५ जनाको परिवारको दैनिकी मात्रै नभई छोराहरुलाई उच्च शिक्षा दिन समेत तरकारी खेतीवाटै सफल भए ।

कृषिक्षेत्रमा लागेपछि यिनलाई कहिलै पछाडी फर्किनुपरेको छैन । कृषि क्षेत्रमा लाग्नुअघि सिलाई कटाईमा कामगर्थें । सिलाई कटाई सम्बन्धि पनि यिनलाई राम्रो ज्ञान छ । सिलाई कटाईमा धेरैजसो उधारो जान थालेपछि पेशानै परिवर्तन गर्ने सोच बनाए र कृषिक्षेत्रमा हात हाले । साना किसान बचत तथा ऋण सहकारी संस्थावाट ५ हजार रुपैयाँ ऋण लिएर व्यवसायिक खेतीपातीमा होमिका चौधरीलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याईछ । लक डाउनले खेतवारीमै तरकारी कुहिन थालेपनि यिनले खेतिपातीबाट आशा मारेका छैनन् । नयाँ नयाँ जातका तरकारी लगाउन यिनको रुचि छ । गतसाल नेपालमै पहिलो पटक तिराई खेतीको परीक्षण गरें । यो पटक व्यवसायिक रुपमै तिराईखेती गरें । सातकट्ठा क्षेत्रफलमा लगाएको तिराई अहिले छपक्कै फलेको छ ।

काठमाण्डौं, पोखरा, नारायणगढ, बुटवलका बजारमा यिनले उत्पादन गरेको तिराई पुग्न थालेको छ । काठमाणैंमा मेरो उत्पादन र भारतवाट आउने तिराई मात्र छ उनले भने – ‘ नेपालमा पनि यसको सम्भावना राम्रो छ, अरुले पनि लगाउँदा हुन्छ ’ । आउने वर्षमा तिराई खेती विस्तार गर्ने यिनको योजना छ । यो पटक यिनले उन्नत जातको गोलभेडा परीक्षणको रुपमा लगाएका छन् । सिजिन्डा कम्पनी र सेन्चुरी कम्पनीको बिउँ ल्याएर परीक्षणको रुपमा रोपेका थिए । वर्खे मौसममा टनेल विना खुल्ला क्षेत्रमा पनि उत्पादन गर्न सकिने गरी परीक्षण गरेका थिए । यो पटक सोचे भन्दा राम्रो भयो । ‘आउँने वर्ष व्यवसायिक रुपमै यो गोलभेडा पनि लगाउँछु’ उनले थपे । एउटा गोलभेडाको बोटमा ५० किलोदेखि एक क्वीन्टल सम्म फल्ने गरेकाले यो जातको गोलभेडा लगाउन उनी कस्सिएका हुन ।

यिनको बारीमा भेडें खुर्सानीको अवस्थापनि उस्तै राम्रो छ । यिनले २ विगहा क्षेत्रफल जग्गा भाडामा लिएर तरकारी खेती लागेका हुन । प्रतिकटठा २ हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । लामो समयदेखि खेतीपाती गर्दै आएकाले पनि तरकारीखेतीमा राम्रो अनुभव छ । बालीमा लाग्ने रोगदेखि तरकारी गोडमेल, काटछाँट गर्नेबारे राम्रो ज्ञान यिनलाई छ । व्यवसायिक तरकारी खेती गर्नथालेपछि आफ्ना दुखका दिनहरु सकिन थालेको पुरनकी श्रीमति कामिनी चौधरीलाई लागेको छ । उनले पनि तरकारी रेखदेमै दिन विताउने गरेकी छिन् । तरकारी विक्रीवितरण गरेरै तीनजना सन्तानलाई हुर्काएर राम्रो शिक्षा दिन सक्नु चानचुने कुरा होइन । यिनीहरुका तीनजना छोरा मध्ये जेठो छोरा बिजय कुमार चौधरी कम्प्युटर शिक्षक हुन । उनी कठार माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका छन् । माइलाछोरा काठमाण्डौमा विपिएच तेश्रोवर्षमा अध्ययरत्त छन् । कान्छो छोरा मेकानिकल इन्जीनियर हुन । ‘तरकारी उत्पादन गरेरै यिनीहरुलाई पढाएका हौं’ पुरनकी धर्मपत्नी कामिनी चौधरीले भनिन् ।

उसो त फुर्सदको समयमा पुरनका छोराहरु पनि खेतवारीमै बुबा आमालाई सघाँउन पुग्छन् । आफुहरुको पृष्ठभूमिनै खेतवारीसँग जोडिएकाले समय मिले सम्म खेतवारीमा कामगर्न आइपुग्छौं जेठा छोरा विजयले बताए । तरकारीखेतीमा थोरै परिश्रम गर्न सक्ने हो भने दुईचार पैसा कमाउन विदेश जानै नपर्ने उनको भनाई छ । कृषिपेशावाट नेपालमै राम्रो प्रगती गर्न सकिने यिनले पनि बुझेका छन् ।–‘हाम्रो बुबा आमा धेरै पढेका छैनन, उनीहरुले त यहिँमाटोमा राम्रो गरे, हामी त झन पढेलेखेका छौं अझै राम्रो गर्न सक्छौं’ बिजयले भने ।
पुरन चौधरी अहिले गाउँघरका अगुवा कृषक बनेका छन् । यिनको देखासिकी गर्ने कृषकहरु पूर्वी चितवनमा धेरै छन् । बालिमा लागेको रोग नियन्त्रणका लागि होस या बालि लगाउँदा विरुवा छनौटमा होस यिनैसँग रायसुझाव लिने गरेका छन् ।

जारी लक डाउनका कारण यिनीहरुले उत्पादन गरेको तरकारी बजार सम्म पुगेन । तर यो अवस्था सधैं नरहनेमा यिनको परिवार विश्वस्त छन् । नेपाली बजारमा स्थानीय उत्पादनले भन्दा भारतीय उत्पादनले बढी प्राथमिकता पाउँदा भने मन दुख्ने गरेको पुरनले सुनाए । कृषकहरुले उत्पादन गरेको फसल खेतवारीमै पुगेर सरकारले नै उठाउन सके आमसर्वसाधरणलाई फाइदा पुग्ने यिनको बुझाई छ । कृषकहरुको उत्पादन कममूल्य तिरेर लैजाने र उपभोक्ताहरुले महगों मूल्य तिर्नुपर्ने कारणले नेपालको कृषि उत्पादनले प्रगती गर्न नसकेको यिनको ठम्याई छ । विचौलीलाई सिन्डीकेट गरेर सरकार आफैले उठाएर आवश्यकता भएका ठाउँमा लगेर विक्री गर्न सके कृषक र सेवाग्राही दुवैलाई फाइदा पुग्ने बताए । ((०))



ट्रेन्डिङ