जारी लकडाउनका बीच संसदमा आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत हुने

जारी लकडाउनका बीच संसदमा आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट  प्रस्तुत हुने

काठमाण्डौं १५ जेठ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा बजेट पेश गर्नेछन् ।

दुई महिनादेखि जारी लकडाउनका बीच अर्थमन्त्री डा. खतिवडाले आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउनलागेका हुन्। हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा सबै क्षेत्रले केहि नयाँ र विशेष आउने अपेक्षा गरेका हुन्छन् । कोरोना महामारीपछि आक्रान्त बनेको व्यापार व्यवसाय देखि उद्योग कलकारखाना लगायत कृषि, रोजगारी सबै क्षेत्रलाई संवोधन गर्नुपर्ने चुनौती छ । यो पटक निजी क्षेत्र आर्थिक प्याकेजको आशामा छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेपछि भाइरसको संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो ।

आज लकडाउनको ६६औं दिनसम्म आइपुग्दा देशको आर्थिक अवस्था ऋणात्मक बाटोमा छ । आर्थिक गतिविधि ठप्प छन् । उद्योग व्यवसाय दुई महिनादेखि बन्द छन्। विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र ‘डिप्रेसन’मा पुग्ने अवस्थामा छ । यसलाई पुरानो अवस्थामा पुर्‍याउन कम्तीमा दुई वर्ष लाग्छ । आन्तरिक पर्यटनलाई पुनर्स्थापना गर्न पनि ६ देखि ८ महिना लाग्छ। फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने विज्ञहरुले सुझाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै स्थानीय विकास साझेदारी कार्यक्रमदेखि ४० हजार कर्मचारी कटौतीसम्म गरेर फजुल खर्च रोक्न सुझाएको छ । सबैखाले फजुल खर्च नियन्त्रण गर्न सर्वत्र माग छ ।



ट्रेन्डिङ