चीनका राष्ट्रपतिले सेनालाई युद्धको तयारीमा लाग्न निर्देशन दिए

चीनका राष्ट्रपतिले सेनालाई युद्धको तयारीमा लाग्न निर्देशन दिए

ऐजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक रहेको चिनियाँ जनमुक्ति सेना वर्तमान विश्वको सबैभन्दा ठूलो सैनिक संगठन हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार जिनपिङले सेनालाई सबैभन्दा खराब अवस्थाको कल्पना गर्दै युद्धका लागि आफ्नो प्रशिक्षण र तयारीमा तीव्रता ल्याउन भनेका छन । हरेक कठिनाईलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिन चीनका राष्ट्रपलिे निर्देशन दिएका हुन् । चीन र अमेरिकाबीच कोरोना संक्रमणलाई लिएर तथा चीन र भारतबीच पछिल्लो समयमा सीमा क्षेत्रमा बढ्दो तनाव, ताइवानसँग अमेरिकी निकटता र दक्षिण चीन सागरमाथि खडा गरिएको विवादबीच उनको यस्तो भनाई बाहिर आएको हो ।

भारतसँग सीमा विवाद बढ्दै जाँदा चीनले लद्दाखको पेंगोंग क्षेत्र र सिक्किमको नाथु–ला क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ । मंगलबारमात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा सल्लाहकार अजित डोभाल, चीन अफ डिसेन्स स्टाफ जनरल विपिन रावत तथा तीन वटै सेनाका प्रमुखसँग बैठक गरेका छन् ।

बैठकमा रक्षामन्त्री राजनाथ सिंह समेत सहभागी थिए । त्यसअघि रक्षामन्त्री सिंहले तीन वटै सेनाका प्रमुखसँग बैठक गरेर अवस्थाबारे जानकारी लिएका थिए । रक्षामन्त्री सिंहले लद्दाख, सिक्किम, उत्तराखण्ड या अरुणाञ्चल प्रदेशमा वास्तविक नियन्त्रण रेखाको नजिक सञ्चालनमा रहेका परियोजना कार्यान्वयनको कुनै समीक्षा आवश्यक नरहेको बताएका थिए ।
भारतले सबै क्षेत्रमा चीनको बराबर सैनिक उपस्थिति बढाउने तयारी गरिरहेको छ । भारत र चीनका सैन्य कमाण्डरबीच २२ र २३ मेमा कुराकानी भएपनि कुनै सकारात्मक परिणाम ननिस्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चीनले गलवान नदीको आसपास भारतले सडक निर्माण गरिरहेकोमा आपत्ति जनाएको छ । चीनले आपत्ति जनाएपछि भारतले सो क्षेत्रमा सडक निर्माण रोकेको छ । ५ मेमा भारत र चीनका करिब २५० जना सैनिकबीच डन्डी र छडसहित भएको झडपमा दुवैतर्फका सैनिक घाइते भएका थिए ।



ट्रेन्डिङ