प्रेस युनियनको २९ औं दिवसको अवसर दीप प्रज्वलन

प्रेस युनियनको २९ औं दिवसको अवसर दीप प्रज्वलन

चितवन १३ जेठ । प्रेस युनियन चितवन शाखाले आज सांँझ दीप प्रज्ज्वलन तथा शुभकामना आदान प्रदान गरेको छ । युनियनको २९ औं दिवसको अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित आफ्नै भवन परिषरमा दीप प्रज्ज्वलन गरी स्थापना दिवस मनाएको हो । सो अवसरमा बोल्दै नेपाल प्रेस युनियन का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले कोरोना भाईरस र लकडाउनका कारण संचारक्षेत्र समेत प्रभावित भएको बताए ।

यस्ता विपतको समय पत्रकारको दायित्व र भूमिका अझ शशक्त हुने भन्दै आचार्यले संचारकर्मीले आफुलाई सुरक्षित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘अहिलेको महामारीको समयमा आर्थिक क्षेत्र संँगै संचार क्षेत्रसमेत थलिएको अवस्था छ उनले भने । पत्रकारले महमारीको कारण निम्नवर्गको समस्यालाई समेत उजागर गर्दै आवाज विहीनको आवाजलाई सरकार समक्ष पुर्याउनुपर्ने धारण राखे । पत्रकारहरु अहिले दोहोरो मारमा परेको उनले बताए । एकातिर मिडिया हाउस र अर्को तिर सरकारपनि मिडीयाकर्मीको पक्षमा नभएको उनको भनाई छ । संचारकर्मीहरुको लागि सरकारले अलग्गै राहत प्याकेज घोषणा गरेर प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

प्रेस युनियनका चितवन अध्यक्ष अनिल ढकालले पत्रकारहरुले देश, समाजको लागि गरेको योगदानलाई विर्सन नहुने बताए । पत्रकारिताको क्रममा ज्यान गुमाएका पत्रकार को समेत उनले स्मरण गरे । महामारीको बेला पत्रकार थप संयमित बन्नुपर्ने भन्दै ढकालले स्वच्छ समाज निर्माणका लागि पत्रकारले निष्पक्ष , तटस्थ समाचार सम्प्रेषण गर्नुपर्ने बताए । सो अवसरमा संचारकर्मीले आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा युनियनका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार गणशेखर शर्मा, प्रेस युनियन तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली , अग्रज पत्रकार ईश्वर जोशी, पूर्व अध्यक्ष नारायण अधिकारी लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

यसैबीच स्थापना दिवसको अवसर पारेर प्रेस युनियनले चितवन मानव सेवा आश्रममा खाना खुवाएको छ । भरतपुर महानगरपालिका ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रीत व्यक्तिहरुलाई युनियनले एक छाक खाना खुवाएको हो । समाजको हरेक पक्षमा युनियनको सहभागिता र सहयोग निरन्तरताको लागि आश्रममा रहेकाहरुलाई खाना खुवाएको युनियनका अध्यक्ष अनिल ढकालले बताए । स्थापना दिवसमा प्रत्येक वर्ष गरिने विविध कार्यक्रम यस पटक कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण समेट्न नसकेको अध्यक्ष ढकालले बताए।

मानसिक रूपले बिछिप्त,असहाय बेसहारा लाई आश्रममा आश्रय दिँदै आएको आश्रमका उपाध्यक्ष बिनोद ढकालले बताए । आश्रममा ३५ जना आश्रित छन्। विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खाना असमर्थ व्यक्तिहरु आश्रित छन । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण भइरहेको लकडाउन को आपतकालिन अवस्थामा पनि खाना सेवा प्रदान गरेको भन्दै आश्रमका सहसचिव सरोज ज्ञवालीले युनियनलाई धन्यवाद दिए ।



ट्रेन्डिङ