कोरोना नियन्त्रणमा प्रदेश सरकारको आलोचना बढ्यो

कोरोना नियन्त्रणमा प्रदेश सरकारको आलोचना बढ्यो

हेटौँडा १३ जेठ । बागमती प्रदेशसभाको सोमबारबाट बजेट अधिवेशन सुरू भएको छ । छैटौँ अधिवेशनको शुभकामना व्यक्त गर्दै प्रतिपक्ष तथा विपक्षी दलहरुले प्रदेश सरकारले पर्याप्त तयारी नगरेको भन्दै आलोचना भएको छ । सरकारको तर्फबाट शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको प्रशंसा र प्रधानमन्त्रीको तारिफ गरेका थिए । उनले नेपालमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नहुने बताएका थिए । उनले कोरोनाका कारण अहिले असहजता उत्पन्न भएको र यसले उद्योग कलकारखानासमेत ठप्प रहेको बताएका छन् ।

असहज परिस्थितिमा जनताको स्वास्थ्यको सुरक्षा, राहत र कोरोनाविरूद्धको अभियानका लागि काम गरिरहेको बताउँदै कोरोना संक्रमणका कारण विकासमा ठेस लागेको र चुनौती बढेको भन्दै चुनौतीलाई अवसरका रुपमा लिएर अघि बढ्ने सरकारको प्रयासमा नागरिकको साथ आवश्यक रहेको उल्लेख गरेका छन् । कोरोना नियन्त्रण गर्न प्रदेश सरकार प्रयासरत रहेको उनको भनाइ थियो । अधिवेशनको शुभकामना व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाल–भारत सीमा विवादको विषयमा भारतीय सञ्चारमाध्यमको भत्र्सना गरेका थिए ।

उनले नेपाल सरकारले नक्सा जारी गरेकोप्रति धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको भने आलोचना गरेका थिए । नेता बानियाँले प्रदेश सरकारले कोरोना नियन्त्रणमा आवश्यक पहल नगरेको बताए । उनले कोरोना उपचार कोषमा पर्याप्त बजेट भए पनि स्वास्थ्य सामग्री नल्याएको भन्दै पिसिआर कीट प्रशस्तै ल्याएर परीक्षण बढाउनुपर्ने बताएका थिए ।उनले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक ध्यान दिन नसकेको बताए । यस्तै, भारतलगायत अन्य देशहरुमा रहेका बागमती प्रदेशभित्रका नेपाली नागरिकहरुलाई ल्याउन संघीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

बागमती प्रदेशसभामा नेकपाको तर्फबाट बोल्दै अष्टलक्ष्मी शाक्यले नेपालले नक्सा जारी गरेर इतिहास रचेको बताउँदै मोदीलाई आग्रह गर्दै उनले भनिन्, “धेरै विवाद नगरौँ, दुई देशको सीमा विवादलाई सहजतापूर्वक लिऊँ ।” उनले नेपाल सरकारलाई पर्याप्त तयारी गरेर भारतसँग वार्तामा बस्न पनि आग्रह गरेकी छन् । यस्तै, बागमती प्रदेशको नयाँ बजेट सर्वसम्मत ढङ्गले पारित गर्नुपर्ने गरी आउनुपर्ने बताइन् ।

विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले आफ्नो प्रदेशको नागरिक ल्याउन सरकारले आवश्यक भूमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका थिए । सरकारको स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचारको छानबिन हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै ओम्नीको बारेमा प्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भने, “ओम्नीको नाम नसुनेका प्रधानमन्त्री निवास बालुवाटारमा ओम्नी कसको फेर समातेर पुगे ? हिउँदे अधिवेशनको शुभकामनामा नेमकिपाको तर्फबाट सुरेन्द्रराज गोसाईं र राप्रपा संयुक्तका तर्फबाट रीता माझीले आफ्नो भनाइ राखेका थिए ।



ट्रेन्डिङ