उत्पादित तरकारी उपभोक्ता मञ्चले वितरण गरिदिने ( समाचारको प्रभाव )

उत्पादित तरकारी उपभोक्ता मञ्चले वितरण गरिदिने ( समाचारको प्रभाव )

कारी महतो-
चितवन १३ जेठ । खैरहनी नगरपालिका वडा नं. १ मा उत्पादन भएको तरकारी उपभोक्ता अधिकार मञ्च चितवनले बिक्री वितरणको व्यवस्था मिलाईदिने भएको छ । तरकारी बिक्री नभएपछि कृषकले कम्पोष्ट मल बनाउन थालेको समाचार अनलाईनमा प्रकाशन भएपछि उपभोक्ता अधिकार मञ्चले उत्पादित तरकारी खेर नफाल्न कृषकहरुलाई अनुरोध गरेका छन् ।

उपभोक्ता अधिकार मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेलले भने – “कृपया तरकारी कुहाएर खेर नफालीदिनुस् ।” कृषकले बिक्री गर्न नसकेको तरकारीको न्युनतम लागत मूल्य तिरेर मञ्चले उपभोक्ताहरुलाई वितरण गर्ने वरिष्ठ उपाध्यक्ष पौडेलले बताएका छन् । “सकेसम्म बेच्ने व्यवस्था मिलाइदिनेछौं, बिक्री नभए हामी आफैंले किनेर उपभोक्ताहरुलाई निःशुल्क बाँड्नेछौं” उपाध्यक्ष पौडेलले फोन गरेर बताए । यसका लागि मञ्चले सम्बन्धित कृषकलाई फोन सम्पर्क गरी सकेको र आजैदेखि वितरण अभियान शुरु गर्ने बताएका छन् ।

तरकारी बिक्री नभएपछि कृषकको खेतबारीमा काम गर्ने मजदुरहरुलाई दैनिक गुजारा चलाउन धौ धौ परेको छ । डेरामा बसेर कृषि मजदुरी गर्नेहरुलाई समेत राहतको व्यवस्था मिलाउने मञ्चका वरिष्ठ उपाध्यक्षले बताएका छन् । तरकारी संकलन केन्द्रमा बिक्री नभएर बोरामै आधा बिग्रिसकेको भिन्डीबाट कृषक लक्ष्मण चौधरीले कम्पोष्ट मल बनाउन थालेका हुन् । उपभोक्ता अधिकार मञ्च चितवनको प्रस्ताव बमोजिम न्युनतम लागत मूल्यमै आफ्ना खेतको भिन्डी मञ्चलाई उपलब्ध गराउन कृषक चौधरी राजी भएका छन् ।

उनले एक बिघामा भिन्डी लगाएका छन् । त्यसमा एक दिन बिराएर लगभग ६ क्वीन्टल उत्पादन हुन्छ । यस क्षेत्रमा करीब ४० बिघामा भिन्डी र ९० देखि १०० बिघामा अन्य तरकारी खेती गरिएको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालले बताए ।



ट्रेन्डिङ