सभाहल निर्माणको कामले तीब्रता पायो, पर्यटन व्यवसायिहरु उत्साहित

सभाहल निर्माणको कामले तीब्रता पायो, पर्यटन व्यवसायिहरु उत्साहित

दीपेश चौधरी
सौराहा १३ जेठ । पर्यटकीय क्षेत्र सौराहामा निर्माण हुन लागेको सुविधा सम्पन्न सभाहलको निर्माण कार्य जारीछ । एकसिंगे गैडाको झल्को दिनेगरी बनाउन लागिएको सभाहलको निर्माण कार्य धमाधम भइरहेको छ । अहिले पानीको सतह माथी भएकाले चौविसै घण्टा डिवाटरीङको काम भइरहेको छ । दैनिक सातवटाभन्दाबढी वाटर पम्मपले पानी तानेर सोलिङ, पिसिसि, हात्तीपाइले फुटिङ लगायतका काम भइरहेको साइट इन्जीनियर राजेश थापामगरले जानकारी दिए । यस सभाहलमा ८८ वटा हात्तीपाइले बनाइएकोछ । जस मध्ये १९ वटा आरसिसि कंक्रिट भइसकेको छ भने १४ वटामा हात्तीपाइले फुटिङको काम अन्तिम अवस्थामा पुगेको छ ।

वर्षातको बेला खोलामा आउने सक्ने बाढी भललाई लक्षितगरेर निर्माणको कामलाई तीब्रता दिइएको हो । असार मसान्त भित्र टाइविम सम्मको काम सक्नुपर्ने लक्ष्य लिएर निर्माण कम्पनीले कामलाई तीब्रता बनाएको हो । अहिले दैनिक १०देखि ११ घण्टा काम गरिरहेका छन् । पूर्व लक्षित समयभित्र काम सम्पन्न गर्न ३० देखि ३५ जना कामदारहरु सामजिक दुरी कायम गरी लक डाउनको समयमा समेत काममै खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय समन्वय समितिले पूर्वाधारका आयोजनाहरु स्वास्थ्यका मापदण्ड अनुसार सामाजिक दुरी कायम राखेर काम गर्न दिने निर्णय गरे संगै ती कामदारहरुलाई सप्तरीबाट ल्याइएको हो । यसअघि लकडाउन पूर्वपनि यि जनशक्तिहरु यहि ठाउँमा कामगर्दै आएका थिए । लक डाउन भएपछि आवश्यक कच्चापदार्थ ढुवानीमा समस्या हुनथालेकाले उनीहरुलाई घर पठाइएको थियो । हाल उनीहरुले क्वारेन्टाइनमै बसेर सामाजिक दुरी कायम गर्दै सभाहल निर्माणमा लागेका छन् । काममा लगाउनुपूर्व उनीहरुको पिसिआर परीक्षण गरिएको साइट इन्जीनियर थापामगरले जानकारी दिए।

३ वटा मिक्सर मेसिन, ३ वटा टयाक्टर, १ वटा स्काइभेटर, १ वटा जेसिभि साइटमै राखेर काम भइरहेको छ । सभाहलको लागि आवश्य सामग्रीहरुमा सिमेन्ट हेटौडा बाट र गिट्टी बालुवा मनहरी क्रसर बाट ल्याउने गरिएको छ । कोरोना संक्रमण हुन बाट जोगीनको लागि बालुवा, गीट्टी बोक्ने टिपरलाई साइटमा छिर्ने बेलामा सुरक्षाका विधि अपनाएर चालक र सहचालक लाई सेनिटाइजर लगाएरमा मात्र भित्र छिर्न दिइने गरिएको छ ।
करिव ४४ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागेको हो । सभाहल दुइ हजार एकसय बर्गमिटरको हुने छ । कम्तीमा ५ हजार जना अटाउन सक्ने सुविधा सम्पन्न हल निर्माणको कामले तीब्रता पाएसँगै यहाँका पर्यटन व्यवसायीहरुमा थप आशा जागेको छ ।

१ सय ५० जना अट्ने बेग्लै बैठक कक्ष, आकर्षक स्ेटज, पूर्वतयारी कक्ष, शौचालय, कार्यक्रममा नाम दर्ता गर्ने ठाउ, भवनभित्र नै खुल्ला क्षेत्र समेत रहनेछ । मगरले भवनको अगाडीको भाग गैडाको टाउको जस्तो देखिने गरी नक्साड्ढन गरिएको छ । लक डाउनले थोरै जनशक्तिमा काम गर्नु परेपनि दुई वर्ष भित्र निमार्ण सम्पन्न गरिसक्ने योजना छ । सभाहल निर्माणको कामले तीब्रता पाएपछि स्थानीयहरु समेत दंग छन् । स्थानीय मथुरा महतोले सभाहल निर्माणपछि गाउँघरमा चहलपहल बढ्नेमा विश्वस्त छन् ।  पर्यटकीय क्षेत्र सौराहामा ठूला ठूला कार्यक्रमहरु आयोजना गर्नका लागि ठूलो सभाहलको अभाव थियो । विभिन्न ठाउँबाट कार्यक्रम वा बैठकका लागि चितवन आउने संघ संस्थाहरु सभाहलकै कारणले विभिन्न समस्या भोग्नुपरेको थियो । सभाहल निर्माण सँगै यस्ता खालका समस्या अन्त्य हुने रेष्टुरेन्ट व्यवसायी अर्जुन चौधरीले बताए ।

क्षेत्रीय रेवानका द्धितिय उपाध्यक्ष समेत रहेका चौधरीले सभा हल निर्माणको कामले आफुहरुमा थप उत्साह पैदा भएको बताए । सौराहा क्षेत्रमा लगभग १ सय १० वटा पर्यटकिय होटल र ५५ वटा रेष्टुरेन्टहरु रहेका छन । महामारीको बेला निरास बनेका यहाँका पर्यटनव्यवसायीलाई दुख भुल्ने विकल्पको रुपमा सभा हल बन्न लागेको पर्यटन व्यवसायी सूर्यवहादुर रिमालले बताए । ‘निर्माणको कामको रफ्तारले आफुरुलाई थप प्रोत्साहन मिल्न थालेको छ’ उनले भने । रत्ननगर नगरपालिकाको वडा नं. ७ सिसुवार स्थित बुढी राप्तीनदीसँगैको खाली जग्गामा सभा बन्दैछ । सभाहलले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैलाई फाइदा पुग्ने वडा अध्यक्ष राजन भट्टले बताए । सभाहलका कारण सौराहामा ठूला–ठूला राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना हुने उनले बताए । गोष्ठी, सेमिनार, बैठक, अधिवेशन, महाधिवेशन लगायतका सानादेखि ठूला कार्यक्रमले यो क्षेत्रमा चहल पहल हुने र त्यसले आर्थिक कारोवारमा बृद्धी गराउने उनको विश्वास छ ।




ट्रेन्डिङ