क्वारेन्टाइन शब्द पछाडीको रहस्य के हो थाह छ ? यो पढ्नुहोस

क्वारेन्टाइन शब्द पछाडीको रहस्य के हो थाह छ  ? यो पढ्नुहोस

कारी महतो-

चितवन १२, जेठ। नोबेल कोरोना भाइरस रोगसँगै नेपालमा क्वारेन्टाइन शब्द अलि बढी नै प्रचलनमा आएको देखिन्छ । चीनको वुहान प्रान्तबाट कोरोना भाइरस विश्वभरि फैलियो । रोगलाई चीनले नियन्त्रणमा राख्न सफल पनि भयो । रोग फैलिन नदिन चीनले संक्रमितहरुलाई कडा नियमपूर्वक क्वारेन्टाइनमा राखेकोले चीनले रोगलाई नियन्त्रणमा लिन सकेको हो भन्ने विश्लेषण समेत हुने गरेको छ । कोरोना र क्वारेन्टाइन बीच गहिरो सम्बन्ध देखिन्छ । कोरोना भाइरस चीनबाट फैलिएको हुँदा क्वारेन्टाइन शब्द पनि चीनबाटै प्रचलनमा आएको हो कि भन्ने आम बुझाइ छ । तर होइन । यसको छुट्टै इतिहास छ ।

यो शब्द इटालीको भेनिस शहरमा बोलिने स्थानीय भाषाबाट अंग्रेजी शब्दकोशमा आएको हो । भेनेसियन भाषाको क्वारन्टा (Quaranta) बाट यो अरु भाषामा आएको देखिन्छ । क्वारन्टाको अर्थ चालिस हुन्छ । क्वारन्ट जोर्नी (Quaranta Georny) को अर्थ ४० दिन हुन्छ । ४० दिनलाई इटालियन भाषामा क्वारन्टेना (Quaranta) भनिन्छ । पछि त्यसलाई अंग्रेजीमा क्वारन्टीन (Quarantine) भनिन थालियो । अहिले भारत र नेपालमा यो शब्दलाई क्वारेन्टाइन भनी उच्चारण गर्न थालिएको छ ।

१४ औं शताब्दीमा विश्वभरि फैलिएको ब्लाक डेथ प्लेगको संक्रमणबाट बच्न इटलीमा पहिलो पटक क्वारेन्टाइनको प्रचलन आएको हो । ब्ल्याक डेथ प्लेग महामारीको समयमा इटालीको भेनिस बन्दरगाहमा पानी संक्रमण भएको ठाउँबाट जहाज मार्फत् आएका मानिसहरुलाई एकान्तबास बस्नुपर्ने भेनेसियन सिनेटको निर्णय बमोजिम ४० दिनसम्म एक्ल्याएर राख्न थालियो । शरीरमा रोगको किटाणु प्रवेश भएका मानिसहरु एकान्तबासको ३७ देखि ४० दिनमा मरिसक्थे । बाँच्न सफल हुने मानिसहरुलाई निरोगी साबित गरी बाहिर निकालिन्थ्यो ।

सन् १३४८ देखि १३५९ सम्म ब्ल्याक डेथ प्लेगको महामारीबाट युरोपको ३० प्रतिशत जनसंख्याको मृत्यु भएको थियो भने विश्वभरीका करीब ६० प्रतिशत मानिसहरु मृत्युको मुखमा पुगेको थियो । ब्लाक डेथ पनि चीनबाटै विश्वभर फैलिएको मानिन्छ । त्यसबेला चीनको हुवेई प्रान्तमा ९० प्रतिशत जनसंख्याको मृत्यु भएको आशंका समेत गरिएको छ ।

ईसापूर्व ७०० मा क्रिस्टियन पादरीहरुले छालामा सेतो दाग देखिने रोगीहरुलाई ७ दिनसम्म आइसोलेसनमा राख्ने गरेको इतिहास छ । इस्लामिक समुदायमा पनि सन् ७०६ देखि ७०७ मा कुष्ठरोगबाट संक्रमितहरुलाई छुट्टै राख्नका लागि दमस्कसमा पहिलो अस्पताल बनाएको लेखोट भेटिएको छ । अर्को दस्तावेज अनुसार सन १३७७ मा युरोपको एक शहरमा ३० दिनसम्म क्वारेन्टीन थियो । इटलीको भेनेसियन सिनेटले सन् १४४८ मा एक्ल्याएर पर्खिने समय अवधि ४० दिन बनाएपछि क्वारेन्टीन शब्दको उदय भएको मानिन्छ । ब्युबोनिक प्लेग रोग संक्रमण भएको ३७ दिनदेखि ४० दिन भित्र रोगीको मृत्यु हुने अनुमानको आधारमा क्वारेन्टीन अवधि ४० दिनको बनाइएको थियो ।

वर्तमान समयमा नोबेल कोरोनाभाइरसको कुनै औषधी पत्ता नलागेको अवस्थामा शंकास्पद मानिसको शरीरमा भाइरस संक्रमण भएको छ कि छैन भनेर कम्तिमा १४ दिनसम्म क्वारेन्टीन राख्ने गरिएको छ । रोगको सराई अवधि (Incubation Period) २ देखि १४ दिनसम्म हुने भएकोले १४ दिनसम्म क्वारेन्टीनमा राख्ने गरिएको विशेषज्ञहरुले बताएका छन् ।

२०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसूचि ५ मा पनि क्वारेन्टाइनको विषय उल्लेख छ । यो अनुसूचि संविधानको धारा ५७ को उपधारा (१) र धारा १०९ सँग सम्बन्धित छ । संघ, प्रदेश र स्थानीय तह बीचको राज्यशक्तिको बाँडफाँड क्रममा संघको अधिकारको सूचिमा क्वारेन्टाइन रहेको उल्लेख छ । विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापनमा संघले मुख्य भूमिका निर्वाह गर्नुपर्छ । तर संघको कार्यक्रमहरु प्रदेश मार्फत स्थानीय तहमै लागू हुने हो । त्यसकारण संघ, प्रदेश र स्थानीय तहका साथै नेपाली जनता मिलेर क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सके मात्र कोरोनाभाइरस महामारी रोकथाममा सफलता हासिल गर्न सकिनेछ ।



ट्रेन्डिङ