लकडाउनमा काम गर्न कामदार अभाव

लकडाउनमा काम गर्न कामदार अभाव

प्रमिता ढकाल- 
भरतपुर ११ जेठ । लकडाउनका कारण रोकिएका विकास निर्माणका कार्य पुनः सुरु गर्न मानविय स्रोत अभाव भएको छ । विकास निर्माणका कार्य योजनालाई सुचारु गर्न निर्देशन आए लगत्तै काम सम्पन्न गर्न अग्रसर निर्माण कम्पनीहरुलाई कामदार अभावका कारण समस्या भएको हो । ठूला योजनाहरुलाई म्याद थप गर्न सकिने सम्भावना रहेपनि सडक,कल्भर्ट सिंचाई, खानेपानी जस्ता काम यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने हुँदा अहिलेकै अवस्थामा काम सुरु गर्दा सुरु गर्न कठिनाई भएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष खुमानन्द कंडेलले बताए ।

‘ डेढ दुई वर्ष लाग्ने योजनाहरुमा त्यती समस्या नहोला ’कंडेलले भने -‘ तत्काल सक्नुपर्ने सडक निर्माणमा हामीलाई समस्या आइसक्यो ।  लकडाउन भएपछि सबै काम ठप्प भएका थिए । उपकरणबाट जारी राख्न सकिने कामहरु हाल सुरु गरीएको छ । जिल्लामा करिव दुई सय जना निर्माण व्यवसायीले विभिन्न योजनाको जिम्मा लिएको भएपनि अहिले ५ देखि १० जना निर्माण व्यवसायीले मात्र आफ्नो काम सुरु गरेको उनी बताउ“छन् । ‘काम समयमै सम्पन्न गर्नु भनेर मात्र के गर्नु,’कंडेलले भने ,‘निर्माण सामाग्री आयातमा समस्या छ, कामदार छैनन् ।’लकडाउनका कारण सहज आवतजावतमा समस्या छ । जिल्ला बाहिरबाट ल्याउनुपर्ने गिटी, बालुवा ,अस्फाल्ट डस्ट , अलकत्रा जस्ता निर्माण सामाग्री उपलब्ध छैनन् ।

लकडाउनका कारण अधिकांश कामदार मजदुर घर गइसकेकाछन् । लकडाउन लम्बिदैं जाँदा अन्यौललग्रस्त अवस्थामा रहेका उनीहरु हिंडेरै घर गएपछि अब काम सुरु गर्नकै लागि बोलाउने अवस्था नरहेको निर्माण व्यवसायी संघ चितवनका कोषध्यक्ष उत्सव भट्टराईले बताए । निर्माण कार्यमा संलग्न धेरै जसो कामदार बर्दिया, दाङ तथा पूर्वका जिल्ला सहित भारतबाट आएका थिए । ‘ टाढाका कामदार क्याम्पमा बस्थे र नियमित काम सजिलो हुन्थ्यो,’ भट्टराईले भने-‘स्थानीय  कामदार काममा अभ्यस्त नहुने नियमित नआउने जस्ता समस्या छन् । हिडेर पुनः काममा फर्किन चाहने कामदार नभएका त होइनन् ,तर टाढाका फिर्ता बोलाउँदा रोगको संक्रमण बढ्ने जोखिम भएकाले उनीहरुलाई बोलाएका छैनौं ,उनले भने ।

निर्माण व्यवसायीले सम्भव भएसम्म स्थानिय कामदार लगाएरै काम सुरु गरेकाछन् । न्यून संख्याका कामदारबाट काम सुरु गर्नुपर्ने बाध्यतासंगै कामदारलाई क्याम्पभित्रै राखेर काम जारी राखेको उनी बताउछन् ।काम जारी राख्न निर्देशन आएपछि अघि बढेका निर्माण व्यवसायीलाई कामदार अभावको समस्या बाहेक भएका कामदारलाई काम गर्ने स्थानसम्म आवतजावतमै समस्या परेको अधिकांशको गुनासो छ । भरतपुर महानगरपालिका भित्र मात्रै यस आर्थिक वर्ष भित्र विकास निर्माणका कामका लागि बजेट ८० करोड बजेट बराबरको काम सम्पन्न गर्नुपर्ने महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

सडक, सिंचाई, कल्भट निर्माण, खानेपानी, विद्यालय भवन,सामुदायिक भवन लगायतको निर्माणका लागि उपभोक्ता समितिसंग सम्झौता समेत भइसकेको अवस्थामा लकडाउनले काम प्रभावित नहोस् भन्न नगरकार्यपालिका वैठकबाटै काम सुचालु गर्न निर्देशन दिइएको उनले बताए । निर्माण व्यवसायीले शहर बजार तथा घना बस्ती बाहिरका खानेपानी ढल, सिचाइ, पुल, कल्भर्ड, सडकजस्ता अत्यावश्यक काम जेठ मसान्त भित्रै सक्ने गरी काम अघि बढाउनुपर्ने कार्यकारी अधिकृत जोशीले बताए । काम गर्ने मजदूर तथा जनशक्ति स्थानियलाई प्राथमिकता दिनुपर्ने, सामाजिक दूरी कायम गराई काममा लगाउनुपर्ने निर्माणस्थल नजिकै खाने बस्ने व्यवस्था गर्नुपर्ने जारी मापदण्डमा व्यवस्था गरिएको छ ।



ट्रेन्डिङ