सरकारको प्रवृत्ति जे कुरामा पनि झारा टार्ने, गम्भीर ढंगले नलिने छ-सम्पादकीय

सरकारको प्रवृत्ति जे कुरामा पनि झारा टार्ने, गम्भीर ढंगले नलिने छ-सम्पादकीय

सम्पादकीय

कोभिड-१९ (कोरोना) भाइरसको संक्रमण बढ्दो छ। नेपालमा केही हुँदैन भन्दाभन्दै मृत्यु हुने संख्या थपिन थालिसकेको छ भने संक्रमित हुनेको संख्या पनि दिनहुँ उक्लँदो छ। विद्यमान स्वास्थ्य पूर्वाधार, संरचना, कर्मचारीतन्त्रको प्रवृत्ति हेरेरै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई उच्च जोखिममा राखेको थियो।

‘नेपालीलाई कोरोना लाग्दैन, लागे पनि पचाउँछन्’ भन्ने शैलीमा सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खासै चासो राखेन। विश्व महामारीको घोषणा भइसकेपछि नेपालमा यो भाइरसले प्रवेशै गर्न नसक्नेजस्तो मान्यता लिएर सरकार बसेकाले अहिले सकस भएको हो। विशेषतः क्वारेन्टाइनको उचित व्यवस्थापन नभएका कारण संक्रमण मात्र होइन, ज्यानकै जोखिम बढेको हो।

सरकारको प्रवृत्ति जे कुरामा पनि झारा टार्ने, गम्भीर ढंगले नलिने छ। कोरोना रोकथामको पहिलो सर्त क्वारेन्टाइन हो भन्ने थाहा पाएर पनि संरचनातर्फ सरकारको खासै ध्यान गएन। क्वारेन्टाइनमै दुईजना व्यक्तिको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहेका ती व्यक्तिको कोरोनाबाट मृत्यु नभएको स्वयं सरकारले पुष्टि गरेको छ।

क्वारेन्टाइनमा स्वास्थ्यको उचित उपचार नभएर मृत्युवरण गर्न बाध्य भएका हुन्। क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्ति राख्ने, दूरी कायम नगर्ने, साझा शौचालय प्रयोग गर्ने, खानेकुरा, खानेपानी लगायतका अति आवश्यक कुरामा लापर्बाही गर्ने, अझ कतिपय अवस्थामा बस्नै नसक्ने गरी नाम मात्रको क्वारेन्टाइन बनाएर भाग्न बाध्य पारिएको अवस्था छ।

कोरोना संक्रमण अहिले तेस्रो चरणमा प्रवेश गर्दैछ- समुदायदेखि समुदायमा। जब समुदायमा यो भाइरस पुग्छ, क्वारेन्टाइनको झन् बढी आवश्यकता पर्छ। अझ विदेशमा रहेका हजारौं युवा फर्कंदै छन्। कतिपय खाडी राष्ट्रले आफ्नै पैसामा नेपालीलाई फर्काउँदैछ। यो महामारीको अन्त्य कहिले हुन्छ, अन्योल छ।

यसले गर्दा विदेशमा रहेका लाखौं नेपाली फर्के भने तिनको प्रारम्भिक व्यवस्थापन अर्थात् क्वारेन्टाइनमा कसरी राख्ने ? अहिले करिब २३ हजार व्यक्ति क्वारेन्टाइनमा छन्। तर तीमध्ये अधिकांश यातनागृहमा परिणत भएका मात्र छैनन्, असंक्रमति व्यक्ति पनि क्वारेन्टाइनमा बसेका कारण संक्रमित हुने जोखिम बढेको छ। क्वारेन्टाइनमा बस्दा कोरोनाभन्दा पनि मानवोचित व्यवहार, उपचार नपाएका कारण हुने मृत्यु राज्यले गरेको गम्भीर हिंसाको रूप हो।

यो अवस्थाप्रति संवेदनशील भई प्रधानमन्त्री केपी ओलीले क्वारेन्टाइनको अवस्था सुधार्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले मुलुकमा रहेका क्वारेन्टाइनको अवस्थाप्रति सचेत हुनु आफैंमा आशलाग्दो स्थिति हो। उनको यो निर्देशन स्वागतयोग्य छ। तर प्रधानमन्त्रीको निर्देशनलाई तल्लो तहका निकायले झारा टारिदिने, गम्भीर नबनिदिने हो भने मुलुकको कार्यकारी प्रमुखले दिएको निर्देशनको पनि अर्थ हुँदैन। आगामी दिनमा क्वारेन्टाइनको संख्या अझ धेरै आवश्यक पर्ने निश्चित छ।

एकैचोटी ठूलो संख्यालाई क्वारेन्टाइनमा राख्दा त्यसमा निहित अव्यवस्थापनले ल्याउने असर अकल्पनीय र दुःखद् हुनेछ। यसका लागि प्रधानमन्त्रीको निर्देशन अक्षरशः पालना गर्न कोरोना नियन्त्रण समन्वय समिति विशेष गम्भीर बन्नैपर्छ। भोलिको भयावह स्थिति आकलन गरेर प्रधानमन्त्रीले आपूmमातहतका निकायलाई बेलैमा सचेत गराउन खोजेको देखिन्छ। यो सुझबुझपूर्ण निर्देशन हो।

क्वारेन्टाइनका लागि एकैचोटी पूर्वाधार कसरी बनाउने ? पाल टाँगेर सबैलाई एकै ठाउँमा खाँद्ने गरिएको छ, त्यो नहुन के गर्ने ? विशेष गरेर सीमा क्षेत्रबाट स्वदेश फर्कने नेपालीलाई लक्षित गरेर युद्धस्तरमा क्वारेन्टाइनको बन्दोबस्ती गर्न अत्यावश्यक छ। यसका लागि सरकारी तथा निजी विद्यालय, होटेल उपयोग गर्न सकिन्छ। क्वारेन्टाइनमा पैसा तिरेर बस्नुपर्ने व्यवस्था भने हुनु हुँदैन। खानेबस्ने, न्यूनतम सुविधा उपलब्ध गराउनैपर्छ।

क्वारेन्टाइनको कुशल व्यवस्थापन गर्न प्रदेश सरकार सक्षम हुनैपर्छ। स्थानीय तहसँग उचित समन्वय गरेर प्रदेश सरकारले विद्यमान, स्कुल, कलेज जस्ता सार्वजनिक पूर्वाधारलाई उपयोगमा ल्याउनुपर्छ। क्वारेन्टाइनजन्य खर्चका लागि केन्द्र सरकारले बजेट व्यवस्थापन गरिदिनुपर्छ।

सरकारले अन्य अनुत्पादक क्षेत्रमा जाने विनियोजनलाई रद्द गरेर पहिलो क्वारेन्टाइनमा लगानी गर्नुपर्छ। जनताको जीउज्यान नै धरापमा परेको छ भने विकास निर्माण कसका लागि ? फेरि नेपाल सरकारले अन्य सामान्य अवस्थामा समेत दुईतिहाइ बजेट खर्च गर्न सकेको थिएन, भने यो महामारीमा खर्च हुन्छ भन्नु जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील नहुनु हो। तसर्थ तत्काल क्वारेन्टाइनको उचित व्यवस्थापनमा लागेर प्रधानमन्त्रीको निर्देशन पालना गर्नु सबै प्रदेश सरकार र संघीय मन्त्रालयहरूको दायित्व मात्र होइन, धर्म पनि हो।  – अन्नपूर्ण पोष्टवाट



ट्रेन्डिङ