सीमा विवादका विषयमा मौन बस्न हुँदैन – राजेश हमाल

सीमा विवादका विषयमा मौन बस्न हुँदैन – राजेश हमाल

काठमाडौँ ८ जेठ । अभिनेता राजेश हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गरेका छन् । उनको निचोड छ– ‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् ।’ लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले भनेका छन्, ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार छैनन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’ सीमा विवादका विषयमा हमाल मौन बस्न नहुने आवाज संजालमा उठिरहेका बेला उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

सीमा विवाद वास्तवमा विवादै नभएको उनको तर्क छ । ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरैरथोरै केही माग गरेको छैन,’ दृढ स्वरमा उनले भनेका छन् । भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको उनी बताउँछन् । ‘वर्तमान अवस्थाको यो गतिविधि सह्य छैन । साधारण भाषामा यो अस्वीकार्य छ,’ भिडियोमा उनले भनेका छन्, ‘म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्दा अब हरेक नेपालीको हो ।’

लामो समयदेखि नेपाल र भारतले आफ्नो सँस्कृति, परम्परा र धार्मिक विश्वास आदनप्रदान गरेको तर यस किसिमको विवादले कालान्तरमा दुवैलाई हानी गर्ने हमालले बताए ।



ट्रेन्डिङ