उपचारको क्रममा रहेका करोना संक्रमित शिक्षकको मृत्यु

उपचारको क्रममा रहेका करोना संक्रमित शिक्षकको मृत्यु

गुल्मी ८ बैशाख । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

सुरुदेखि अस्पतालमै रहेका उनका दाजुले पनि डाक्टरले भाइलाई बचाउन नसकिएको जानकारी गराएको बताए । ‘बिहान सवा ७ बजेतिर हामीलाई बचाउन नसकिएको बताएका छन्,’ उनले भने, ‘हामीले के गर्ने भन्ने पनि सल्लाह गर्दै छौं ।’ अस्पतालले बिहान उनको मृत्युको जानकारी परिवारलाई दिएको जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले बिरामीको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताए । ‘हामी आगामी प्रोटोकलको तयारीमा जुटेका छौं,’ उनले भने, ‘संघीय सरकारलाई पनि जानकारी गराइसकेका छौं ।’

गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाँची हुँदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।



ट्रेन्डिङ