महामारीले नेचरगाईडहरुको पेशा संकटमा / पलायन हुने सम्भावना बढ्दै

महामारीले नेचरगाईडहरुको पेशा संकटमा / पलायन हुने सम्भावना बढ्दै

दीपेश चौधरी
सौराहा ७ जेठ । रत्ननगर ७ का हर्कवहादुर कुमाल पेशाले नेचरगाईड हुन । यो क्षेत्रमा लामो समय उनले विताएका छन् । चितवन घुम्न आउँने पर्यटकहरुलाई जंगल घुमाउने उनको पेशा हो । पाहुनालाई जंगलीजनावर र यहाँको प्रकृति देखाउने उनको दैनिकी हो । चितवन राष्ट्रिय निकुञ्जको कुन क्षेत्रमा जनावरहरु पाइन्छ र कुन ठाउँमा चराचुरुड्डी हेर्न पाइन्छ भन्ने विषयमा राम्रो अनुभव यिनलाई छ । चितवन घुम्न आउने पर्यटकलाई कसरी खुशी पारेरै पठाउने यिनको योजना हुन्छ ।
सौराहाका सबैभन्दा पुराना नेचरगाईहरुकै पंत्तीमा यिनको नाम आउँछ । सिजनमा त झन यिनलाई भ्याई नभ्याई हुन्छ । जंगलवाक, जीप सफारी, इलाफेन्ड राईड, भिलेज टुर, डुंगा शयर लगायतका काममा व्यस्त हुन्छन् । तर हिजोआज यिनी निकै फुर्सदिला बनेका छन् । लक डाउनसँगै चितवनका होटलहरु बन्द हुन थालेपछि यिनी फुर्सदिला बनेका हुन । लक डाउन खुली हाल्यो भनेपनि यहाँका होटलहरु तत्काल खुल्ने अवस्था छैन । सबैजसो होटलले आफ्ना कर्मचारीलाई बेतलवी विदामा पठाएका छन् । अनिश्चित समयका लागि विदामा बसेका कर्मचारीहरु तत्काल होटल खुल्नेमा विश्वस्त छैनन् ।

होटल संचालकहरुले पनि लक डाउन खुले लगत्तै कर्मचारीलाई बोलाउन सक्ने अवस्थामा छैनन् । जसका कारण यहाँका नेचर गाइडहरुको पेशानै संकटमा पर्ने त्रास बढ्दै गएको छ ।
होटल सेभेनस्टारमा नेचर गाईडको रुपमा कामगर्दै आएका हर्कवहादुर कुमालले यस्तै अवस्था रहे पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यता आउने बताए । पर्यटकहरुकै चहलपहल भएन भने हामी नेचरगाईडहरुले कस्लाई घुमाउन लैजाने हो ? उनले चिन्ता व्यक्त गरे ।

हर्कवहादुर कुमाल जस्तै सयौंको संख्यामा रहेका यहाँका नेचर गाईडहरुको पीडा उस्तै छ। लक डाउनले सुनसान बनेको पर्यटकीय क्षेत्रको असर नेचरगाईडहरुको घरको चुलो सम्म पर्न थालेको छ । यहाँको पर्यटकीय क्षेत्रमा चहलपहल हुन निकै समय लाग्न सक्छ । पाहुनाहरुको चहल पहल नभए पछि घरको चुलोमा आगो बल्न समस्या हुन सक्ने अर्का नेचर गाईड दिनेश चौधरी बताउँछन् । सौराहामै उनले आफ्नै नेचरगाईड अफिस संचालन गर्दै आएका छन् । सिजनको बेला दैनिक दर्जनौं पर्यटकहरु उनको अफिसमा बुक भएर जंगल घुम्न जाने गर्दथें । हिजोआज उनको अफिसस पूर्ण रुपमा बन्द छ । यहाँका होटलहरुमा पर्यटकहरुको चहलपहल नभए सम्म उनको गाईड अफिसमा पनि चहल पहल शुन्य नै हुनेछ । –‘अफिस बन्द भएसँगै दैनिक गुजारा चलाउने बाटोनै बन्द भएको छ’ उनले भने । यो क्रम जारी नै भए आफुले पनि नयाँ विकल्प सोच्नुपर्ने बाध्यता आउने उनले बताए । दिनेश चौधरी जस्तै अर्का नेचर गाईड कृष्ण श्रेष्ठ पनि दंग परेका छन् । २०४४ सालदेखि नेचरगाईड भएर कामगर्दै आएका श्रेष्ठले पनि अबको भविष्य सहज नभएको बताउँछन् । पुरानै दिनचर्यामा आउन कम्तीमा २ तीनवर्ष लाग्ने उनको अनुमान छ । पर्यटकलाई जंगल घुमाउने बाहेक अरु सीप आफुसँग नभएकाले पनि दैनिक चलाउन समस्या आउनेमा उनलाई चिन्ता छ ।


के गर्दै छ त नेचर गाइड एसोसिएसन
नेपालकै तेस्रो पर्यटकिय गन्तब्य सौराहा, घटगाँइ, मेघौली, माडी र नवलपरासीमा गरी लगभग ७ सयको हाराहारीमा नेचर गाइडहरु छन् । यो मध्ये ५ सय जना भन्दाबढी यहिँ पेशमा निर्भर छन् । नेचर गाईडहरुपनि संगठित बनेका छन् । उनीहरुको छातासंस्था नेचर गाईड एशोसियसनका अध्यक्ष राजेन्द्र धामीले लकडाउनको चपेटामा नेचरगाईडहरु परेको बताए । सबै जसो सदस्यहरुको अवस्था पीडादायिछ उनले भने ।

यो अवस्था जारी रहे धेरै गाईडहरुको रोजिरोटी खोसिने र परिवार नै विचल्लीमा पर्न सक्ने उनले गुनासो गरे । संगठनका तर्फवाट आर्थिक अवस्था नाजुक भएका २५ जना नेचरगाइडहरुलाई प्रतिव्यक्ति २० किलो चामल २ किलो दाल, १ लिटर तेल, साबुन र एक पोका नुनका दरले राहत वितरण गरिएको थियो । संगठनमा आवद्ध ७० प्रतिशत गाईडहरुको आर्थिक अवस्था कमजोर छ । नेचरगाईडहरुले हरेक वर्ष लाइसेन्स रिन्यू गर्नु पर्ने प्रावधान छ। विना लाइसेन्स जंगल प्रवेश गर्न पाइदैन । लाइसेन्स अवधि असार मसान्त सम्म हुन्छ ।

 

गाइडहरुको मनवोल उच्च बनाइ राख्नको लागि यस पेशाबाट हतोत्साहीत हुन नदिनका लागि फरक खालको आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । नेचरगाईडहरुलाई पलायनहुनबाट रोक्न सरकारले फरक खालको राहत प्याकेज दिन सके थोरै राहत मिल्ने अध्यक्ष धामीको भनाई छ । राष्ट्रिय निकुञ्जले लाइसेन्स रिन्युका लागि प्रत्येक सदस्यवाट प्रत्येक वर्ष लिँदै आएको २ हजार रुपैयाँ यो वर्ष छुटगर्नुपर्ने उनीहरुको माग छ । यसो भएमा नेचर गाईडहरुलाई थोरै राहत पुग्ने छ ।
यस्तै प्रत्येक सदस्यहरुवाट दुर्घटना विमाका लागि एशोसियसनले लिँदै आएको १२ सय रुपैयाँ यो आर्थिक वर्षमा नलिने निर्णय गरेको छ । यसरी लामोसमय देखि पर्यटन क्षेत्रमा सक्रिय भएर बन र वन्यजन्तुलाई समेत संरक्षणमा सक्रियता देखाउँदै आएका नेचरगाईडहरुलाई पेशावाट पलाएन हुन दिनु हुँदैन । उनिहरुको सीप र दक्षतालाई प्रयोगमा ल्याउन सकिएन भने पर्यटन क्षेत्रमा नसोचेको घाटाहुनेमा दुईमत छैन ।



ट्रेन्डिङ