मुख्य सचिवद्धारा नयाँ राजनीतिक नक्सा प्रमाणीकरण / आजै सार्वजनिक गर्ने तयारी

मुख्य सचिवद्धारा नयाँ राजनीतिक नक्सा प्रमाणीकरण / आजै सार्वजनिक गर्ने तयारी

काठमाडौँ ७ जेठ । नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्ताव अनुसार मुख्य सचिव रेग्मी मंगलबार लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गरेका हुन् ।

सचिव न्यौपानेले मंगलबार नयाँ नक्सा प्रमाणीकरणका लागि मन्त्रालयबाठ टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पेस गरेका थिए । प्रमाणित नयाँ नक्सा आजै भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको स्रोतको दावी छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।



ट्रेन्डिङ