आगामी वर्ष २६ लाखलाई रोजगारीः मन्त्री पुन

आगामी वर्ष २६ लाखलाई रोजगारीः मन्त्री पुन

काठमाण्डौं ७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले सरकारले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सञ्चालन गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी गर्न सक्ने व्यवस्था मिलाएको बताएका हुन् ।

‘कोरोना महामारी कहिलेसम्म रहन्छ कसैले अनुमान गर्न सक्ने विषय होइन’, मन्त्री पुनले भने, ‘सङ्कटकै बीच जीवन खोज्ने काममा अभ्यस्त हुनुपर्ने भएको छ ।’ महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्दै उनले नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने पाँच लाखसमेत गरेर २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताए ।

महामारीका कारण धेरैको ध्यान कृषिमा गएको र कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्न सकिने देखिएको भन्दै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइ र कृषि मन्त्रालय मिलेर त्यसका लागि गृहकार्य गरिरहेको बताए ।



ट्रेन्डिङ