वन्यवन्तुका लागि घाँसेमैदान व्यवस्थापनमा सामुदायिक वनको सक्रियता बढ्यो 

वन्यवन्तुका लागि घाँसेमैदान व्यवस्थापनमा सामुदायिक वनको सक्रियता बढ्यो 

दीपेश चौधरी – 

सौराहा ६ जेठ । दाना र खानाले सबैलाई नजिक बनाउँछ भन्ने चल्ती उखान छ । वन र वन्यजन्तुहरुका लागि पनि यो उखान लागु हुनेगरेको छ । दाना र खाना नभए सम्म बन्यजन्तुहरुको संरक्षण हुन सक्दैन । यसैलाई मध्येनजर गर्दै चितवनको बाघमारा मध्यवर्ती सामुदायिक वनक्षेत्रमा बन्यन्तुका लागि घाँसे मैदानको व्यवस्थापनमा सुरु भएको छ ।

दाना र खाना दिन सके वन्यजन्तुहरुको राम्रो संरक्षण हुन सक्ने भन्दै बाघमारा मध्यवर्ती सामुदायिक वन आफै घाँसे मैदान व्यवस्थापनमा जुटेको हो । हिजोआज लक डाउनका कारण यो सामुदायिक वन समेत सुनसान छ । अघिपछि हात्ती र पर्यटकहरुको राम्रो चहलपहल हुुने यो सामुदायिक वन हिजोआज सुनसान देखिन्छ । मानविय चहलपहल कम हुन थालेपछि जंगलीजनावरहरुको चहलपहल भने बढ्दै गएको छ। जंगली जनावरहरुको चहलपहल बढेसँगै घाँसेमैदान व्यवस्थापनलाई सामुदायिक वनले प्राथमिकतामा राखेको हो । आहारको अभाव हुन थालेपछि जंगली जनावर मानविय वस्तीमा प्रवेश गर्न थाल्यो । मानविय वस्तीमा निस्किएका जनावरले बालिखान थालेपछि घाँसे मैदान पहिलो आवश्कता बनेको सामुदायिक वनका अध्यक्ष जीतवहादुर तामाङले बताए ।

उसो त सामुदायिक वनले प्रत्येक वर्ष नै घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ। वनक्षेत्रमा फैलिएको माइकेनियमा, पार्थनिया, बनमारा लगायतका झाडीहरुले घाँसे मैदान घट्दै गएको छ । घट्दै गएको घाँसे मैदान र बढ्दै गएको जनावरहरुको चहलपहलले घाँसको अभाव हुन नदिन घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो । सामुदायिक वनले क्याप चौर, पुरानो पिक्निक स्पोट, हात्ती महोत्सव नजिकैको चौर र मचान क्षेत्रगरी करिब ४५ हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यस्थापन गरिसकेको छ । वनभित्र ट्याक्टरकै प्रयोग गरेर घाँसे मैदानलाई व्यवस्थापन गर्ने प्रयास जारी छ ।

यसअघिका वर्षहरुमा घाँसे मैदान व्यवस्थापनका लागि जनशक्तिका रुपमा स्थानीय उपभोक्ताहरुलाई नै पारिश्रमिक दिएर परिचालन गर्ने गरिएको थियो । तर यो वर्ष खर्च कटौती गर्नका लागि ट्याक्टरकै प्रयोग गरिएको हो । गतवर्षहरुमा ८ देखि १० लाख रुपैयाँ सम्म घाँसे मैदान बनाउन खर्च हुँदै आएको थियो । तर यो पटक भने गतवर्षहरुमा हुने काम ३ लाख रुपैयाँ खर्चमा सकिएको छ ।  वन्यजन्तुलाई असर नपर्ने गरी वनभित्रको झाँडी मात्रै भएको ठाउँलाई पनि घाँसे मैदानकै रुपमा विकासगर्ने सामुदायिक वनको योजना छ । तत्कालै ५ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने योजना रहेको सामुदायिक वनका सचिव कृष्ण भट्टले सुनाए । फाल्गुन, चैत, जेष्ठ, असार र असोज कार्तिक गरी वर्षमा ३ चोटी घाँसे मैदानको ब्यवस्थापन र विस्तार गर्ने गरिएको छ ।

यो समय घाँसे मैदान व्यवस्थापनका लागि उपयुक्त हुनेभएकाले सामुदायिक वन अहिले घाँसे मैदान व्यवस्थापनमा जुटेको वनका सचिव भट्टले बताए । घाँसमा गुण बनाउने, अण्डापार्ने र बच्चा निकाल्ने समयमा घाँसे मैदानको काम हुँदैन । घाँसे मैदान सँगै ठाउँ ठाउँमा आवश्यकताका आधारमा साना साना पोखरी समेत बनाउन थालिएको छ । घाँसे मैदानमा चरिचरणका लागि आउने जनावरका लागि पानी पिउन पोखरी समेत बनाउन लागिएको हो । घाँसे मैदानका कारण गैडा, हरिण, मृग, जरायो, बँदेल लगाएत चराचुरुङीको संख्यामा बृद्धिहुँदै गएको वनका उपाध्यक्ष सिताराम चौधरीको भनाई छ ।



ट्रेन्डिङ