खुट्टामा डोरीले बाँधिएकी बालिकाले के नयाँ जीवन पाउँलिन त ? ( फलोअप समाचार )

खुट्टामा डोरीले बाँधिएकी बालिकाले के नयाँ जीवन पाउँलिन त ?  ( फलोअप समाचार )

सन्तकुमार चौधरी
चितवन (कालिका ) ४ जेठ । जन्मिएदेखि नै मानसिक सन्तुलन गुमाएकी १२ वर्षिया सुवास्ना रेग्मीको मस्तिष्कमा समस्या देखिएको छ । उनको दाहिनेपट्टीको ब्रेन सुक्दै गएको सिटिस्क्यानको रिपोर्टले देखाएको छ । आर्थिक अभावका कारण उपचार गर्ननसकेर घरमै डोरीले बाँधेर राखेको समाचार सार्वजनिक भएपछि सुवास्नाको स्वास्थ्य उपचारमा स्थानीय प्रकाश क्लिनिकका संचालक प्रकाश रिजालले चासो देखाए । उनले नै थप उपचारका लागि मंगलवार सुवास्नालाई बोकेर भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ( पुरानो मेडिकल ) पुगे ।

अस्पताल पुगेकी सुवास्नाको टाउकोको सिटीस्क्यान भयो । लामो समयदेखिको संक्रमण भएकाले दाहिने पट्टीको मस्तिष्क सुक्दै गएको अस्पतालका रेडियोलोजिष्ट डा. विष्णु प्रसाद सिग्देलले बताए । उनको प्लेन सिटीस्क्यान गरिएको हो । रेडियोलोजिष्ट डा. सिग्देलका अनुसार ब्रेन सुक्दै गएका कारण उनमा सिजर आउने समस्या देखिदै गएको हो । ब्रेनमा देखिएको समस्याले काम्ने, फिँज आउने समस्या लगायतका समस्याहरु देखापर्ने गर्दछ । यो समस्या पूर्ण रुपमा निको भएको उदाहरणहरु खासै नभएको रेडियोलोजिष्ट डा. सिग्देलको अनुभव छ । उनले सुक्दै गएको मस्तिष्कलाई थप सुक्न नदिनका लागि केहि प्रयास गर्न सकिनेभएपनि पूर्ण रुपमा मस्तिष्कलाई जिवित पार्न सकिने सम्भावना न्यून रहेको प्रष्टपारे ।

उनमा पिनासको समेत समस्या देखिएको छ । यसैगरी सुवास्नाको कानमा समेत समस्या छ । उनको ब्रेन नजिकै हड्डी खाने समस्या देखिएको छ । अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ एवम् उपप्राध्यापक डा. अपार पोखरेलले कानभित्रको हड्डी कुहिएर संक्रमण देखिएको बताए । विग्रिएको हड्डीलाई खुरकेर निकाल्नुपर्ने उनले बताए । डा. पोखरेलका अनुसार शल्यक्रिया मार्फत हड्डी खुरकेर फाल्न झण्डै तीनचार घण्टा लाग्ने छ । कानभित्र विग्रिएको हड्डी फाल्नका लागि कम्तीमा ४० हजार देखि बढी खर्च लाग्ने उनले बताए । शल्यक्रिया गर्नुअघि सुनाई टेष्ट लगायत अन्य केहि आवश्यक स्वास्थ्य परीक्षण समेत गनुपर्छ । शल्यक्रिया पछि न्यूनतम एकसाता अस्पतालमै बस्नुपर्ने छ । खर्चिलो स्वास्थ्य उपचार भएकाले स्वास्थ्य विमा गरेर सरकारले दिएको सेवा सुविधा लिन समेत डा. पोखरेलले सुझाव दिए ।

सुवास्ना रेग्मीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने औषधी देखि स्वास्थ्य विमाका लागि प्रकाश क्लिनिकका संचालक प्रकाश रिजालले सहयोग गर्ने छन् । आजभोलीनै उनको स्वास्थ्य विमाका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए । स्वास्थ्य विमा भएसँगै उनको थप स्वास्थ्य उपचारका लागि आफु लाग्ने रिजालले बताए ।  त्यसअघि शिक्षण अस्पतालका न्यूरोसर्जन डा. सोमराज लामिछाने र पूर्वी चितवनका चर्चित युवा जनरल फिजिसियन डा. सन्तोष शर्मा भुषालले बालिकाको घरमै पुगेर चासो देखाएका थिए । न्यूरोसर्जन डा. लामिछानेकै आग्रह अनुसार मंगलवार बालिकालाई अस्पताल लगिएको थियो । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ( पुरानो मेडिकल )ले सुवास्ना रेग्मीको सिटीस्क्यान देखि अन्य आवश्यक चिकित्सकहरुको सँगको परामर्श पूर्ण रुपमा निशूल्क गरेको हो ।

थोरै आफ्ना समस्या भन्न मात्रै सकेपनि आफुलाई धेरै राहत मिल्ने सुवास्नाकी आमा शोभा रेग्मीले बताईन । यिनले आफ्नो समस्या राख्न नसक्दा आफु घर छाडेर कतै मेलापातमा समेत जान नसकेको गुनासो गरिन् ।  चितवनको कालिका नगरपालिकाको वडा नं. ३ पदमपुरकी १२ वर्षिया बालिका विगत ५ वर्षदेखि डोरीले बाँधेर बसेकी छिन् । मानसिक सन्तुलन नभएका कारण परिवारले खुट्टामा डोरीले बाँधेर रेखदेख गर्दै आएको समाचार पिविएमन्यूज डटकममा सार्वजनिक भएपछि स्थानीय प्रकाश क्लिनिकले उनको उपचारको विषयमा चासो देखाएको हो ।

सुवास्नाको बुबा बासुदेव पनि शारीरिक रुपमा अशक्त नै छन् । उनलाई प्रेसले हानेपछि हात्त नचल्ने भएको हो। बासुदेव रेग्मीको एकछोरा सहित ३ सन्तान मध्ये यिनी जेठिछोरी हुन । यिनी जन्मिने बेला आमाको अत्याधिक रक्तश्राव भएको थियो । जन्मिएदेखि नै अत्याधिक ज्वरो आउने समस्याले सताउन थाल्यो । पोखरामा जन्मिएकी यिनलाई पोखराका सबै जसो अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । पोखरामा ठिक नभएपछि काठमाण्डौंको कान्ति हस्पिटलमा लगे । कान्ति हस्पिटलले पनि न्यूरो हस्पिटल जान सुझाव दियो । बालिकालाई बोकेर न्यूरो हस्पिटल पुगें । सिटीस्क्यानदेखि एमआरआई गर्नुपर्ने र अत्याधिक महगों खर्च लाग्ने भएपछि न्यूरोमा उपचार नगराई टिचिङ हस्पिटलमा लगे । त्यहाँ सिटीस्क्यान भयो तर पैसाको अभावले एमआरआई गर्न सकिएन उनका बुबा बासुदेवले भने । सिटीस्क्यानमा मेनिजाईटिस भएको देखियो । बालिका अहिले १२ वर्षकी भइन । मुखबाट फिँज आउने, आँखा पल्टाउने क्रम जारी छ । तीनवर्ष अघि सम्म ममी बाबा सम्म भन्ने गर्थीन् । अहिले शरीरको एकापट्टीको भाग चल्दैन । शरीरको नचल्ने भाग अब त सुक्न सुक्न थालेको छ उनका बुबाले सुनाए । अहिलेपनि औषधी सेवन गरिरहेकी छिन् ।

नगरपालिकाको वडा नं. ३ स्थित आर्दश समाज टोलमा २०७२ सालदेखि यिनीहरु बस्दै आएका छन् । मानसिक सन्तुलन ठिक नभएका कारण उनलाई बाँधेर नै राख्ने गरिएको छ । उनी घिस्रिदै हिड्छे । हिड्दा हिड्दै लड्छे, लडेपछि उठ्न सक्दिन । कहिले घिस्रिदै रोडमा पुग्छे । आफु कहाँ छु, को आफन्त हुन समेत उनलाई हेक्का हुँदैन । जहाँ मनलाग्यो त्यतै गइदिन्छे । उनलाई बाटोमा पुग्ने डरले बाँधेर राख्ने गरिएको हो । यसरी बाँधेर राखिएको पाँचवर्ष भन्दाबढी भयो । छोरीको उपचार गर्दागर्दै रेग्मी परिवार हार माने । आर्थिक अभावले छोरीको उपचार र उनलाई व्यवस्थापन गर्न नसक्दाको पीडा वासुदेवको परिवारमा छ ।

 

लक डाउनको बेला स्थानीय टोल विकास संस्थाले राहत बाड्न लागेको बेला रिपोटीङमा जाँदा हामीले सुवास्नालाई भेटेको थियौं । हेर्नुहोस भिडियोमा उनको अवस्था । भिडियो पुरै हेर्नुहोला ।

 

 



ट्रेन्डिङ