निर्दयी प्रहरी प्रशासन, अभिभावक विहीन बनेका मजदुरहरु ( ठोरी काण्ड)

निर्दयी प्रहरी प्रशासन, अभिभावक विहीन बनेका मजदुरहरु ( ठोरी काण्ड)

चितवन ५ जेठ। आफ्नो देशको प्रत्येक नागरिकको सुरक्षागर्ने जिम्मा देशको अभिभावकको हुन्छ । केन्द्रदेखि स्थानीय तह सम्म आवश्यकताका आधारमा नागरिकका लागि अभिभावकको व्यवस्थापन ऐनले गरेको छ । अर्थात नागरिकको सुरक्षा, रेखदेख र उनीहरुको आवश्यकता पुरा गर्न प्रशासन देखि स्थानीय सरकारलाई जिम्मा दिइएको छ । यो पटक माडीका मेयर ठाकुर प्रसाद ढकाल असल अभिभावक बन्न सकेनन् । उनलाई अभिभावक बन्न प्रहरी प्रशासनले रोक्यो ।

मुम्बईमा मजदुरी गर्ने आफ्नो नगरक्षेत्रका केहि युवाहरु पाँच दिन लगाएर ठोरी नाका पुगेको खबरले मेयर ठाकुर ढकाल उत्साहित बनेका थिए । उनले राती नै ठोरी पुगेर उनीहरुलाई उद्धारगरी क्वारेन्टाईनमा राख्ने तयारी गरेका थिए । सोही अनुसार ठोरी पुगे । तर उनले सोचे जस्तो भएन । आफ्नै भूमीमा पाइला टेकिसकेका मजदुरहरुलाई प्रहरीले फेरि भारततिरै फिर्ता पठाइदियो । मेयर ढकालले यिनीहरुलाई उद्धार गरेर यिनीहरुको व्यवस्थापनको तयारी सबै सूनाए । तर माथिको निर्देशन भन्दै मेयरका कुरा प्रहरीले सुनेन । मेयर ढकाल रित्तै माडी फर्कीन बाध्य भए ।

ठोरी काण्ड यस्तो थियो –

पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ

माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक दिपक दाहालले बताए । कोरोना संक्रमितको संख्या बढेसँगै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । माथिको निर्देशन विना कसैलाई पनि प्रवेश अनुमति नरहेको उनले बताए ।

फिर्ता पठाइएका उनीहरुलाई सीमावर्ती नाका भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा रहेको भारतीय गाउँ धमौरास्थित एक विद्यालयको क्वारेन्टाइनमा लगिएको छ । आइतबार राति उनीहरु भारतीय सीमा सुरक्षा बलको टोली आँखा छलेर नेपाल प्रवेश गर्न खोजेका थिए । तर सशस्त्र प्रहरीले थाहा पाएपछि उनीहरुलाई पुनः एसएसबीको जिम्मा लगाएको थियो । जसमध्ये चितवनका २१ जना , मकवानपुरका १ जना, नवलपरासीका १ जना र धनगढीका १ जना छ्न् । भारततर्फ पठाइएका २४ जना मध्ये २० जना चितवनको माडी नगरपालिकाका स्थानीय छन् ।

आफ्नो गाउँका नागरिक नाकामा अलपत्र परेको थाहा पाएपछि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल ठोरी नाका पुगेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनले पर्सासँग समन्वय गरेर आफू आफ्ना नागरिक लिन आएको बताउँँदा पनि सीमामा खटिएका सशस्त्र प्रहरीले अनुमति नदिएको उनले गुनासो गरे । सुरक्षाकर्मीले नेपाली नागरिकलाई भारततर्फ नै पठाउनु अमानवीय व्यवहार भएको ढकालले बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने यसबारे आफूहरुलाई जानकारी नै नभएको प्रतिक्रिया दिए । बस्नेतले भने, ‘चितवन जिल्ला प्रशासनले हामीलाई पत्रलेखेर अनुरोध गरेको भए हामीले समन्वय गर्न सक्थ्यौं । तर चितवनबाट त्यस्तो जानकारी आएको मलाई थाहा छैन । सीमा नाकामै आइसकेका नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहले मापदण्ड अनुसारको क्वारेन्टाइनमा लगेर राख्ने प्रतिवद्धता आए पठाउन सकिन्छ ।’

पीडित भन्छन्–हामीमाथी अन्याय भयो

ठोरीको सीमामा आइपुगेका उनीहरु लकडाउनका कारण होटलहरु बन्द भएपछि समस्यामा पर्दै आएका थिए । भारत सरकारले बसमार्फत मजदुरहरुलाई घर फर्काउँदैछ भन्ने थाहा पाएपछि उनीहरु पनि नेपाल आएका थिए । चितवनको माडी नगरपालिका–५ बरमपुरीका २७ वर्षीय लेखनारायण -(राजन) लामिछानेले  भने, ‘मुम्बईदेखि भिखना ठोरीसम्म भारत सरकारले नै हामीलाई ल्याइदियो । मुम्बई, गोरखपुर, मोतिहारी, नरकटियागंज हुँदै बसमार्फत हामीलाई पाँच दिन लगाएर नेपाल नाकासम्म ल्याइदियो । तर आफ्नै मुलुक आउने ढोकामा बार लगाइदियो । बिरानो मुलुकको नागरिक जसरी फेरि भारत नै फर्काइ दिएको छ । हामी आफ्नै मुलुकको लागि अनागरिक भयौं । हाम्रो चित्कार सुन्ने कोशिस गरेन ।’

‘भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको दर बढ्दै गएका कारण मर्न परे पनि आफ्नै मुलुकमा गएर मरौं भनेर हामीले कठिनपूर्ण यात्रा तय गरेका थियौं,’ लामिछानेले भने, ‘आफ्नै मुलुक पस्ने ढोका हाम्रो लागि बन्द हुन्छ होला भनेर हामीले सोचेका पनि थिएनौं । जुन सोच्दै नसोचेको कुरा हामीले भाग्नु पर्‍यो ।’



ट्रेन्डिङ