वीरगन्जमा नयाँ संक्रमित राख्ने ठाउँ समेत छैन

वीरगन्जमा नयाँ संक्रमित राख्ने ठाउँ समेत छैन

वीरगन्ज ५ जेठ ।
कोरोना ( कोभिड–१९)संक्रमितहरुको संख्या पछिल्लो समयमा ह्वातै बढेर पर्सामा ९३ नाघेको छ । सर्वसधारणलाई उपचार प्रदान गर्ने मुख्य आधार रहेको यहाँको नारायणी अस्पताल अहिले कोरोना संक्रमितहरुबाट भरिएर त्यहाँ नयाँ संक्रमित राख्ने ठाउँ अब छैन ।  यसले गर्दा गैरकारोनाका आम बिरामीले उपचार पाउने ठाउँ वीरगन्जमा नहुनाका साथै कोरोनाका संक्रमितलाई पनि त्यो ठाउँ अपुग भएर समस्या ज्युँका त्युँ छ ।

यसैविच उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वीरगन्जको समस्यामा समाधानका निम्ति पहल सुरु गरेका छन् । स्थानीय जनताले बेग्लै कोरोना अस्पताल बनाएर नारायणीलाई आम उपचारमा प्रयोग गर्न एक स्वरले माग उठाउन थालेको पनि डेढ महिना पुगेको छ । नारायणीलाई कोरोना अस्पताल बनाइएपछि त्यहाँ आउने बिरामीलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल जानु परेको छ । नेशनल मेडिकलले बिरामीहरुसग उपचारमा अनुचित आर्थिक दोहन गरिरहेको आरोप सेवाग्राहीको छ । वीरगन्ज महानगरपालिकामार्फत एउटा निजी अस्पताल थप रुपमा कोरोना अस्पतालको रुपमा संचालनमा ल्याउन तयारी गरिए पनि त्यो पर्याप्त नभएकोले समस्या अझ लम्बिने नै देखिन्छ ।

गण्डक अस्पतालसंग महानगपालिकाले बैशाख ६ मा गरेको सम्झौता सार्वजनिक खरिद ऐन र त्यसको नियमावली मिचिएर भएको थियो । त्यसको बिरोध भएपछि संघीय स्वास्थ्य मन्त्रालयबाट आदेश लिएर त्यहाँ कोरोना अस्पताल संचालनको पहल थालिएको थियो ।

यस क्षेत्रका नेताहरु मन्त्रालय धाएपछि मन्त्रालयले बैशाख ३० मा एउटा पत्रमार्फत नारायणी अस्पतालकै नाममा महानगरपालिकाले आर्थिक र भौतिक दायित्व बहन गर्ने गरी आफ्नो ब्यवस्थापनमा बेग्लै कोरोना अस्पताल संचालनको अनुमति दिएको छ । त्यसपछि गण्डक अस्पतालमा कोरोना अस्पताल संचालनको बाटो फुकिएको छ । २५ सैयाको स्विकृति रहेको उक्त अस्पतालमा अर्को कोरोना अस्पताल संचालनको बाटो खुलेको छ । अस्पतालको संरचना निशुल्क रुपमा कोरोना अस्पताल बनाउनका लागि आफुले जनहितको लागि उपलब्ध गरएको गण्डक अस्पतालका संचालक रहबर अन्सारीले बताएका छन् । आइसुलेशन बनाउनका लागि भने सैया संख्या त्यहाँ बढाउन थालिएको महानगरपालिकाले जनाएको छ ।

यसबाट समस्या समाधान नहुने स्थानीयको राय छ । मन्त्रालयको पत्रमा दिइएको ६ बुँदे निर्देशनको पहिलो बुँदामा ‘नारायणी अस्पतालमा उपचाररत कोभिड –१९ का संक्रमित बिरामीलाई डिस्जार्च गरेपश्चात त्यहाँ अन्य तोकिएको अस्पतालमा बिरामीको उपचार गराउने’ भनिएको छ । छैटौं बुँदामा त्यहाँ बहिरंग सेवा (ओपिडि) र अन्य नियमित सेवा संचालनमा ल्याउन भनिएको छ । यसरी नारायणीमा उपचाररत ७० बिरामी डिस्चार्ज नभएसम्म उक्त अस्पतालमा अहिले आम बिरामीको उपचार नहुने दखिन्छ ।



ट्रेन्डिङ