जारी गरेको लकडाउन जेठ २० गतेसम्म थप्ने सरकारको निर्णय

जारी गरेको लकडाउन जेठ २० गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौं४ जेठ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० गतेसम्म थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते मंगलबार मध्यरातसम्म पुर्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै थप १५ दिन लकडाउन लम्ब्याइएको बताए । उनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिफारिस गरे अनुसार लकडाउन लम्ब्याउने निर्णय भएको बताए ।

लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजाने विषयमा समेत छलफल भइरहेको छ । लकडाउनकै समयमा पनि कृषि उत्पादन र उद्योगसँग सम्बन्धित क्रियाकलापहरु र ढुवानीको क्रियाकलाप यथावत राख्ने सरकारको निर्णय छ ।

निर्माणसँग सम्बन्धित कुराहरु, ठूला आयोजना र साना आयोजना तथा सहरी क्षेत्रमा निर्माण भइराख्ने क्रियाकलापहरु यथावत नै रहने मन्त्री खतिवडाले बताए । यस्तै आफ्नै गाउँमा क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई सुरक्षाका उपायहरु अपनाएर काममा जोडन सकिने विषयमा समेत छलफल भइरहको छ ।

सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रोपटक एक साता थप गरी चैत २५ गते सम्म पु¥याएको थियो । त्यसलाई निरन्तरता दिदै तेस्रोपटक समय थप गरी वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याएको थियो । त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गते सम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गते सम्म र पछिल्लो पटक जेठ ५ गते सम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमणका कारण नेपालमा २ जनाको मृत्युभएको छ भने २ सय ९५ जनामा संक्रमण देखिएको छ ।



ट्रेन्डिङ