मृतक महिलाको घर पुगेका विज्ञ टोलीले के के गरे फोटोकथा

मृतक महिलाको घर पुगेका विज्ञ टोलीले के के गरे फोटोकथा

सिन्धुपाल्चोकको बाह्रबिसे-९, राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछि स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको विज्ञ टोली आज दिनभर राम्चे गाउँमा खटिएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’, वन तथा पर्यटनमन्त्री अरुण नेपाल र नेकपा केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’सहित मन्त्रालय र प्रदेशका विज्ञ सम्मिलित टोली मृतक महिलाको गाउँ राम्चे पुगेको थियो । राम्चेमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको टोली पनि खटिएको छ ।

दिउँसो राम्चे पुगेको टोलीले आज दिनभर कन्ट्रयाक ट्रेसिङ गर्ने र स्वाब संकलन गर्ने काम गरेको छ । आज मृतक महिलाको परिवार र टोलको स्वाब संकलन भएको डा . रमेश अधिकारीले जानकारी दिए । अहिलेलाई मृतक महिलाका श्रीमानसहित परिवारका पाँचजनालाई हिजोदेखि नै धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । महिलाका श्रीमान, नवजात शिशु, महिलाकी आमा, बहिनी र भाइलाई अस्पतालको आइसोलेसनमा राखिएको हो ।

मन्त्रीसहितको टोलीले जनतालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । टोलीमा रहेका नेकपा सिन्धुपाल्चोकका सहइन्चार्जसमेत रहेका नेकपा केन्द्रीय सदस्य सापकोटाले जनताको मनोवल उच्च पार्ने र होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जानकारी दिएका छन् ।

आवश्यक परेमा आइसोलेसनमा राख्नेगरी भौतिक संरचना निर्माण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन र सामग्रीको पर्याप्तताका विषयमा पनि छलफल भएको छ । संक्रमण थप फैलिन नदिनका लागि हिजो देखि नै राम्चेलगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिहीबार स्वास्थ्य अवस्था जटिल बनेपछि वाह्रविसेबाट ती महिलालाई धुलिखेल अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पाइएको थियो ।



ट्रेन्डिङ