राजा महेन्द्रको इतिहाससँग जोडिएको एउटा सिमलको रुख

राजा महेन्द्रको इतिहाससँग जोडिएको एउटा सिमलको रुख

दीपेश चौधरी – विपिएम न्यूज । 
सौराहा ३ जेठ । एउटा सिमलको रुख संरक्षण गर्ने विषय झट्टपढ्दा वा सुन्दा सामान्य झै लाग्छ । तर यसको गहिराईमा पुग्ने हो भने जो कोहिको मनमा यो रुखलाई संरक्षण र प्रर्वद्धन गर्नुपर्छ भन्ने लाग्छ । झण्डै २ सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको एउटा सिमलको रुख संरक्षण गर्न चितवनको बाघमारा मध्यवर्ती सामुदायिक वनले चासो देखाएको छ । सामुदायिक वनकै क्षेत्रमा एउटा सिमलको रुख छ ।

पूर्ण रुपमा सुकेको अवस्थामा रहेको यो सिमलको रुखको माथिल्लो भाग भुईमा ढलेको छ । तीनवर्ष अघि चट्याङ लागेर माथिल्लो भाग ढलेको हो । बाँकी भाग जमुनाको रुखसँगै टाँसिएर बसेको छ । हुन त सामुदायिक वन क्षेत्रमा हजारौं सिमलका ठूला ठूला रुखहरु छन् । तर अन्य रुखहरुको तुलनमा यो सिमलको रुखको फरक महत्व र इतिहास भएकाले सुकेर ढलेको भएपनि यसलाई संरक्षण गर्न सामुदायिक वनले चासो देखाएको हो । मानविय वस्ती देखि झण्डै १ किलोमिटरको दुरीमा रहेको यो रुखलाई संरक्षण गर्न सके पर्यटकहरुको चहलपहल बढ्न सक्ने वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङको भनाई छ । ऐतिहासिक सम्पदाको रुपमा संरक्षण गर्न वनले चासो देखाएको हो ।

– के छ रहस्य यो सिमलको रुखको ?
यो रुखको इतिहास राजपरिवार सँग जोडिएको छ । राजा महेन्द्र स–परिवारका साथ सिकार खेल्न आउँदा यो रुखमा मचान बनाएर बस्ने गरेका थिए । जानकारहरुका अनुसार राजपरिवारका सदस्यहरु यो घण्टौं घण्टा सम्म बसेर सिकार गर्थें । यो मचानमै बसेर बाघ, भालु, गैडा, बँदेल, चितल, जरायो लगायतका जनावरको सिकार गर्थें । यो रुख सिकारी रुखको नामले परिचित छ । गाउँलेहरु अहिलेपनि सिकारी रुखनै भनेर चिन्दछन् । यो रुखमै बसेर सिकार खेल्ने भएकाले यो रुखलाई सिकारी रुख भन्न थालिएको हो । बाघमारा गाउँको नाम समेत यो रुखकै परिवेशवाट राखिएको जानकारहरु बताउँछन् । राज परिवारले यो ठाउँमा आएर सिकार गर्ने क्रममा बाघ मारेका थिए । बाघ मारेर बाघको छाला सुकाउने ठाउँ हालको बाघमारा गाउँ हो । यसैबाट सिंगो गाउँको नाम बाघमारा रहन गएको हो । स्थानीय मधुलामा राजा महेन्द्रसँग आएर बाघ, चितुवाको सिकार गर्ने गरेको मधुलामाका ६१ वर्षका छोरा हर्कमानले सुनाए । उनी राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३२ सालदेखि जागिरे थिए । हाल रिटार्यड भएका छन् ।                                                                                                                                                                                                राजा महेन्द्रसँग सिकार गर्न आउँदा यहिँ सिमलको रुखमा मचान बनाएर सिकार गरेको हर्कमानले बताए । ठूलो रुख भएकाले सिकार गर्न आउनेहरु जनावरवाट सुरक्षित हुने हिसावले पनि यो रुखलाई नै रोज्ने गथें । नजिकै खोला भएकाले जनावरहरु पनि यो रुखवरिपरि नै भेटिन्थें । राजा महेन्द्र यो रुखमा बनाइएको मचानमा रात बसेर हरिण, बदेल र बाघको सिकार गरेका थिए ।
स्थानीय ५३ वर्षिय मिका लामालाई पनि राज परिवार सिकार खेल्न आउने गरेको स्मरण छ । राजपरिवारका सदस्यहरुलाई रुखमा चढ्न सजलोका लागि खापा बनाएका थिए । मिका लामाका अनुसार खापाबाट रुखमा चढेर २ वटा हाँगामा काठको फलेक ओच्याएर मचान बनाएका थिए ।
रुख भन्दा थोरै पर लगेर राँगा बाध्यने र रातिको समयमा राँगालाई खान बाघ आउने गथ्र्यो । राँगालाई समात्न आएको मौका छोपेर बाघको सिकार गर्ने गरिन्थ्यो । राती बन्दुक पड्केको आवाज पर गाउँसम्म पुग्थ्यो । मिका लामाका अनुसार कहिले काहिँ राजपरिवारका सहयोगीहरु खाजा खान उनको घरसम्म पुग्थें । प्राय आउने जाने भइरहेकाले चिनजान पनि थियो । कहिलेकाँही सिकार गरेको मासु पनि छाडेर जाने गरेको मिकाले सुनाए । उनि त्यति बेला ७/८ वर्षका थिए । उनका अनुसार वर्षमा एकदुई पटक सम्म सिकार गर्न राजपरिवारका सदस्यहरु यहाँ आउथें । आफु बा्रखा चराउन जानेबेला मचानमा गएर खेल्ने गरेको समेत उनले सुनाए ।

– के छ सामुदायिक वनको योजना ?
बाघमारा मध्यवर्ती सामुदायिक वनले ऐतिहासिक सम्पदाको रुपमा रुखलाई संरक्षण गर्ने तयारी गरेको छ । सुकेर जीर्ण बनेको सिमलको रुखलाई बार्लिस लगाएर टल्लक टल्काएर राख्ने योजना छ । सामुदायिक वनले छिट्टै कार्य समितिको बैठक बसेर रुखलाई प्राकृतिक रुपमा छानो हालेर वा सानो मचान बनाएर हुन्छ यसको इतिहास र महत्वलाई संरक्षण गर्ने अभियानमा जुट्नेछ । समितिका अध्यक्ष जितवहादुर तामाङका अनुसार यो रुखको ऐतिहासिक महत्वलाई ढुंगामा उल्लेख गरेर राख्ने योजना रहेको सुनाए ।

२१५ हेक्टरमा फैलिएको यो सामुदायिक वन नेपालकै सबैभन्दा धेरै आम्दानी हुने सामुदायिक वनको रुपमा परिचित छ । सौराहा घुम्न आउने अधिकाङस पर्यटकहरु हात्ती चढेर जंगली जनावर हेर्न यो सामुदायिक वन प्रवेश गर्ने गरेका छन् । २०५२ सालमा स्थापना भएको यो सामुदायिक वनमा जंगली जनावरहरु अन्य सामुदायिक वनको तुलनमा उल्लेख्य मात्रमाबढी पाइन्छ ।



ट्रेन्डिङ